newskoseli.Com

अस्पताल भर्ना हुनुअघि के भने प्रधानमन्त्री ओलीले ? (भिडियो सन्देश र पूर्ण पाठसहित)

प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक बुधबार मिर्गौला प्रत्यारोपण गर्न सोमबार अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्री ओलीले अस्पताल भर्ना हुन जानुअघि देशवासीका नाममा भिडियो सन्देश दिएका छन् ।

यस्तो छ सन्देशको पूर्णपाठ–

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,

मेरो सिङ्गो जीवन कुनै न कुनै किसिमको संर्घषमा बित्दै आएको छ । कहिले निरङ्कुशताविरुद्ध लोकतन्त्रको लागि संघर्ष, कहिले राष्ट्रिय हित तथा स्वाभिमानका लागि संघर्ष त कहिले देशमा स्थायित्व नचाहने र हुन नदिनेहरुसँगको संघर्ष ।

मुलुकमा व्याप्त यस प्रकारका विविध समस्याहरुसँग निरन्तर जुध्ने क्रममा शरीरभित्र सिर्जित रोगसँग लड्न म बाध्य हुन पुगेको यहाँहरु सबैलाई जानकारी नै छ । यसै सन्दर्भमा, आज भन्दा झन्डै १२ वर्षअघि मेरा दुवै मिर्गौलाले काम गर्न छाडेपछि २०६४ साउनमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराएको थिएँ । त्यतिबेला हाम्रो देश नेपालमा मिर्गौला प्रत्यारोपणको सुविधा थिएन ।

पर्सी फागुन २१ गते बुधबार फेरि मैले मिर्गौला प्रत्यारोपण गराउँदैछु । त्यसको चिकित्सकीय तयारीका लागि म आजै त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जतमा भर्ना हुँदैछु ।

विज्ञान, आधुनिक प्रविधि, ज्ञान र सिपले मिर्गौला प्रत्यारोपण अहिले, पहिलेजस्तो जटिल मानिँदैन । यस पटकको मिर्गौला प्रत्यारोपण त्यसैले पनि तुलनात्मक रुपमा सजिलो हुने मैले विश्वास लिएको छु । त्यसमाथि आफ्नै मुलुकमा आफ्नै देशका अनुभवी चिकित्सकहरूद्वारा प्रत्यारोपण गराउने सुविधा प्राप्त हुँदा म गर्व गर्छु र अत्यन्तै खुशी पनि छु ।

भनिन्छ नि, आशाको दियो बलिरह्यो भने शान्ति, प्रेम र विश्वासको जग मजबुत तुल्याउन सकिन्छ । कुनै समय मुर्छित रहेका हाम्रा सपनालाई हामी सबै मिलेर जगायौं । त्यसलाई ब्युँताउनका लागि गत निर्वाचनमा मेरो नेतृत्वको वरीपरी तपाईंहरु सबैले आफूलाई उभ्याउनुभयो । यस वर्षलाई हामीले समृद्धिको आरम्भ वर्ष भनेका छौं ।

जसरी खेलको बीचमा ‘राम्रो खेलाडी’ ले मैदान छाड्दैन, त्यसैगरी हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्नँ । संसारमा कोही पनि अजम्बरी छैन । मेरो यो संकल्प पनि अजम्बरी बन्न होइन, हाम्रा जागृत हुँदै गरेका सपनालाई साकार पार्नका लागि हो भन्ने यहाँहरुले बुझ्नु नै भएको छ ।

म पुनः एक पटक आग्रह गर्दछु– मेरो स्वास्थ्यलाई लिएर यहाँहरु ढुक्क रहनुहोस् । हामीले देखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न केही दिनको अस्पताल बसाइ र आरामपछि थप ऊर्जा र आत्मविश्वास लिएर म काममा फर्कनेछु । यस बीचमा सरकारका तर्फबाट गर्नुपर्ने सबै काम नियमित रुपमा अघि बढ्नेछन् । विश्वलाई नै पिरोलिरहेको कोरोनाभाइरसका कारण सिर्जना भएको नयाँ समस्या होस् वा भैपरी आउने कुनै पनि विषय, त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न परेको समयमा आवश्यक निर्णय लिन सक्ने संयन्त्र र अन्य व्यवस्था मिलाएको छु ।

मेरो अस्पताल बसाइको समयमा पार्टी र संसद दुवैतिर आवश्यक कार्यसम्पादन गर्न जिम्मेवार नेता–कार्यकर्ता, सांसदहरू र लाखौं पार्टी सदस्यहरू निरन्तर क्रियाशील हुनेमा म विश्वस्त छु । मेरो शीघ्र स्वास्थ्यलाभको कामना गर्नुहुने स्वदेश र विदेशका सबै मित्र तथा शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद भन्न चाहन्छु । धन्यवाद ।

१९ फागुन, २०७६
बालुवाटार

भिडियोमा हेर्नोस् प्रधानमन्त्रीको सन्देश–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर