newskoseli.Com

प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनक सुधार : चिनियाँ राष्ट्रपतिद्वारा स्वास्थ्यलाभको कामना

चार दिनअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थितिमा सन्तोषजनकरुपमा सुधार भइरहेको छ ।

प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनकरुपमा सुधार भइरहेकैले उनलाई साधारण खाना दिन थालिएको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले जानकारी दिएका छन् । प्रधानमन्त्रीलाई सामान्य हिँडडुल गराउनुका साथै ‘फिजियोथेरापी’ लाई समेत निरन्तरता दिइएको छ । प्रधानमन्त्रीको ‘भाइटल’ तथा प्रयोगशाला परीक्षणको परिणाम सामान्य रहेका जानकारी डा. खड्गाले दिए ।

प्रधानमन्त्रीकी मिर्गौलादाता समीक्षा सङ्ग्रौलाको पनि स्वास्थ्यावस्थामा राम्रो सुधार भइरहेको अस्पतालले जनाएको छ । उनको पनि स्वास्थ्यसम्बन्धी अत्यावश्यक स्थिति प्रयोगशाला परीक्षणका सूचक सामान्य छन् । सङ्ग्रौलाले पनि साधारण खाना खानुका साथै हिँडडुल गर्न थालिसकेको कार्यकारी निर्देशक खड्गाले बताए ।

चिनियाँ राष्ट्रपतिद्वारा स्वास्थ्यलाभको कामना

चीनका राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई शनिबार एक सन्देश पठाएर हालै उनले मिर्गौला प्रत्यारोपण गरिएएको जानकारी प्राप्त भएको उल्लेख गर्दै चीन सरकार, त्यहाँका जनता र स्वयम् आफ्ना तर्फबाट प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बताएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव समेत रहेका राष्ट्रपति सीले सन्देशमा दुई देश तथा चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीचको सम्बन्धलाई थप विस्तार गर्दै त्यसलाई गतिशील बनाउन तथा दुई देशका जनताको हितका खातिर द्विपक्षीय सहयोगलाई अझ सुदृढ तुल्याउन प्रधानमन्त्री ओलीसँग काम गर्न प्रतीक्षारत रहेको उल्लेख गरेका छन् ।

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री इमरान खान, भूटानका प्रधानमन्त्री डा. लोट्टी छिरिङ र नेपालका लागि जापानी राजदूत मासामिची साइगोले पनि प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपणसहित शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । प्रधानमन्त्री ओलीको बुधबार दोस्रो पटक सफल मिर्गौला प्रत्यारोपण गरिएको थियो । –रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर