newskoseli.Com

प्रचण्डको ‘कासन’ : ‘कोही पनि विचलित नहुनोस्’

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका शीर्ष नेताबीच देखिएको सामान्य मतभेदलाई लिएर तल्लो तहका कार्यकर्ता विचलित हुनु नहुने बताएका छन् । नेकपा चितवनको सचिवालय बैठकमा आइतबार बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले केही दिन अगाडि पार्टीको सचिवालय बैठकपछि भएको सामान्य मतविभाजनलाई लिएर कार्यकर्ताले विचलित मनस्थिति बनाएको भए त्यो त्याग्न अनुरोध गरे ।

बैठकमा सहभागी जिल्लाका एक नेताका अनुसार अध्यक्ष प्रचण्डले भने– ‘माथिका शीर्ष नेताबीच केही विषयमा मतमतान्तर भइरहन्छ, आज एकमत हुँदैन, भोलि हुन्छ– त्यही कुरालाई लिएर तल्लो तहमा मतविभाजन भयो भने मिलाउन समस्या हुन्छ ।’ शीर्ष नेतामा कुनै समस्या नभएको भन्दै उनले भने– ‘हामी मिलिहाल्छौं, तपाईंहरुमा समस्या आयो र मिल्नुभएन भने मिलाउन कठिन हुन्छ ।’

अध्यक्ष प्रचण्डले तल्लो तहमा पार्टी निर्माणमा लाग्न जिल्लालाई निर्देशन दिँदै भने– ‘तपाईंहरु पार्टीको खम्बा हो, जनस्तरमा पार्टीको कार्ययोजना, सरकारका काम, पार्टीले खेल्नुपर्ने भूमिका सबै जिम्मेवारी पूरा गर्नु छ ।’ कार्यकर्तामा समस्या आएमा त्यसलाई जोड्न धेरै मेहनत गर्नुपर्ने भन्दै उनले भने– ‘शीर्ष नेतृत्वमा के भयो भन्दा पनि हामी एक छौं, तपाईंहरुलाई हाम्रो यस्तो सुझाव छ भनेर तपाईंहरुले सल्लाह दिनोस् ।’

सचिवालय बैठकले गरेको निर्णय कार्यान्वयन हुनेमा ढुक्क रहन उनले अनुरोध गरे । ‘अर्का अध्यक्ष तथा प्रधानमन्त्री उपचारका लागि अस्पतालमा हुनुहुन्छ, त्यहाँबाट फर्केपछि निर्णय कार्यान्वयन हुन्छ,’ अध्यक्ष प्रचण्डले भने– ‘हामीले एकमत भएर उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेका छौं, त्यो कार्यान्वयन हुनेछ, त्यसमा दुईमत हुँदैन ।’

पार्टीले सञ्चालन गरेका गतिविधि र सरकारले गरेका राम्रा कामबारे जनस्तरसम्म लैजान उनले सबैलाई निर्देशन दिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर