newskoseli.Com

‘ठूला जमघट र अत्यावश्यक बाहेकका आवतजावत राेक’ : स्थानीय तहलाई सरकारको निर्देशन

ठूला जमघट हुने खालका सामाजिक कार्य, भोज, उत्सव एवं पर्वमा सहभागी नहुन सर्वसाधारणलाई आह्वान गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकका सबै (७५३) स्थानीय तहलाई निर्देशन दिएको छ ।

सबै स्थानीय तहलाई ११ बुँदे ध्यानाकर्षण पत्र पठाउँदै कोभिड– १९ को सङ्क्रमण रोक्नका लागि ठूला जमघटका कार्यक्रममा सर्वसाधारणलाई सहभागी नहुन अनुरोध गर्न मन्त्रालयले आग्रह गरेको सहसचिव वसन्त अधिकारीले जानकारी दिए । मानिसको ठूलो जमघट हुने सिनेमा हल, बसपार्क, पार्टी प्यालेस तथा सामूहिक बसोवास हुने अपार्टमेन्टजस्ता स्थानमा स्वास्थ्यकर्मी टोली खटाई समय–समयमा परीक्षण गर्ने व्यवस्था मिलाउन समेत मन्त्रालयले स्थानीय तहलाई आग्रह गरेको छ ।

कोभिड– १९ को सङ्क्रमण नियन्त्रणमा नआएसम्म नेपाल प्रवेश गर्ने मुख्य सीमा नाकामा उच्च सतर्कता अपनाई नेपाल प्रवेश गर्ने सबै यात्रुको स्वास्थ्य जाँच–स्क्रिनिङको कार्यलाई प्रभावकारी पार्न समेत मन्त्रालयले निर्देशन दिएको छ । स्थानीय तहमा रहेका सबै अस्पताल र स्वास्थ्य केन्द्रमा उपलब्ध क्षमतालाई ध्यानमा राखी आकस्मिक अवस्थामा प्रयोग गर्न सकिने गरी आवश्यक मात्रामा छुट्टै शय्याको व्यवस्था मिलाउन, बिरामीको प्रारम्भिक जाँच, परीक्षण गर्ने र सघन जाँच परीक्षण गर्नुपर्ने देखिएमा प्रादेशिक तथा केन्द्रीय अस्पतालमा रिफर गर्ने व्यवस्था मिलाउन समेत मन्त्रालयले अनुरोध गरेको छ ।

कोभिड– १९ को सङ्क्रमण, यसको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सचेतनासम्बन्धी जनहितका सूचना जारी गरी प्रचार–प्रसार गर्ने–गराउने, स्यानिटाइजर, मास्क, औषधि एवं अत्यावश्यक सामग्रीलगायत दैनिक उपभोग्य अन्य वस्तुको बजारमा नियमित एवं सहज आपूर्तिको व्यवस्था तथा बजार स्वच्छता कायम राख्न स्थानीय तहबाट सम्बन्धित निकायसँग समन्वय गरी बजार अनुगमन तथा नियमनको कार्यलाई प्रभावकारी बनाउन समेत मन्त्रालयले सबै स्थानीय तहलाई आग्रह गरेको छ ।

छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएका मुख्य नाका पशुपतिनगर, काँकरभिट्टा, जोगबनी, जयनगर, रक्सौल, सुनौली, जमुनाह, गड्डाचौकीलगायतका ठाउँमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप स्वास्थ्य कक्ष स्थापना गरी स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने सबै यात्रुको स्वास्थ्य परीक्षण गर्न, सीमावर्ती क्षेत्रमा अत्यावश्यक काममा बाहेक आवत–जावत नगर्न नेपाली नागरिकलाई सूचित गर्न पनि मन्त्रालयले स्थानीय तहलाई अनुरोध गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर