newskoseli.Com

‘भ्रामक’ अडियो सञ्जालमा ‘पोस्ट’ गरेको आरोपमा ‘अनलाइन’ सञ्चालक पक्राउ

नेपालमा कोभिड– १९ को सङ्क्रमण देखिएको भन्दै भ्रामक श्रब्य सामग्री (अडियो) बनाएर सामाजिक सञ्जालमा ‘पोस्ट’ गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने विवेक थापा मगरलाई शनिबार पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए । साइबर अपराधसँगै सार्वजनिक शान्ति सुरक्षा विरुद्धको कसुरमा थापा मगरमाथि प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरिरहेको जानकारी उनले दिए ।

मगरले विनादर्ता ‘झोर्ले न्युज डट कम’ नामक अनलाइन सञ्चालन गरिरहेको बताइएको छ । नेपालमा कोरोनाको सङ्क्रमण देखिएको र केहीको मृत्यु समेत भएको भनी उनले भ्रामक श्रब्य सामग्री (अडियो) रेकर्ड गरेर सामाजिक सञ्जालमा राखेका थिए । एक व्यक्तिलाई सम्बोधन गरेर रेकर्ड गरिएको उक्त अडियो एक मिनेटको छ ।

अडियोमा नर्भिक अस्पतालका कर्मचारीले दिएको जानकारी भनेर उल्लेख गरिएको छ । उक्त अडियोका विषयमा सामाजिक सञ्जालमा व्यापक आलोचना हुनुका साथै जनमानसमा भ्रम सिर्जना भएको प्रहरीको भनाइ छ । गलत हल्लाका पछि नलागी सरकारको आधिकारिक सूचना र जानकारीबारे ख्याल गर्न समेत प्रहरीले आग्रह गरेको छ ।

गलत सूचना सार्वजनिक गर्नेलाई कारबाही गर्ने सरकारले जनाइसकेको छ । नर्भिक इन्टरनेसनल अस्पतालले समेत कोभिड– १९ का बिरामी फेला नपरेको स्पष्ट पारिसकेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर