newskoseli.Com

‘पत्रकारले निवासबाटै काम गर्ने व्यवस्था मिलाऊ’ : महासंघ

कोभिड– १९ को जोखिमलाई ध्यान दिँदै सञ्चारकर्मीले निवासबाट नै कामकाज गर्ने व्यवस्था मिलाउन नेपाल पत्रकार महासङ्घले सञ्चार प्रतिष्ठानलाई आग्रह गरेको छ ।

शनिबार राजधानीमा बसेको केन्द्रीय समितिको बैठकले सञ्चारकर्मीका लागि सुरक्षित वातावरण तयार पार्न, समयमै पारिश्रमिक प्रदान गर्न तथा निवासबाट कामकाजको व्यवस्था मिलाउन सञ्चार प्रतिष्ठानलाई आग्रह गर्ने निर्णय गरेको महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिए । सञ्चारकर्मीलाई कार्यालय आवतजावत गर्नका लागि सवारी साधनको व्यवस्था मिलाउन,सञ्चार माध्यम र सञ्चारकर्मीलाई इन्टरनेट, टेलिफोन, विद्युतजस्ता अत्यावश्यक साधनमा आवश्यक सहुलियत दिन सरकारसँग माग गर्ने निर्णय गरेको उनले बताए ।

कोरोनाभाइरसको सङक्रमणबाट बच्नका लागि संयमतापूर्वक सत्य, तथ्य र सचेतनामूलक सामग्री प्रकाशन–प्रसारण गर्न बैठकले आमसञ्चार माध्यमलाई आग्रह गरेको छ । नेपालमा सो भाइरसको संक्रमण फैलन नदिन अपनाउनुपर्ने सावधानिबारे सञ्चार क्षेत्रको उत्तरदायित्वका सम्बन्धमा महासङ्घका तर्फबाट आवश्यक भूमिका निर्वाह गर्ने समेत बैठकले निर्णय गरेको छ ।

यसका लागि महासंघका तर्फबाट सञ्चार माध्यम र पत्रकारको दायित्वका सम्बन्धमा सामग्री तयार पार्ने, सुरक्षित रही सत्य–तथ्य सूचना प्रवाहको वातावरण निर्माण गर्न पहल गर्ने तथा गलत र भ्रमपूर्ण प्रचार हुन नदिन अनुगमन समिति गठन गर्ने निर्णय समेत बैठकले गरेको छ । सो समितिमा अध्यक्ष गोविन्द आचार्य,उपाध्यक्ष विपुल पोखरेल र दिलिप थापा तथा महासचिव रमेश विष्ट रहेका छन् ।

कोरोनाभाइरसको संक्रमणको जोखिमबाट बच्ने उपायसम्बन्धी सचेतनामूलक सामग्री प्रकाशन–प्रसारण गर्न आम सञ्चार माध्यमलाई आग्रह गर्ने निर्णय समेत बैठकले गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर