newskoseli.Com

६२ नेपाली फेरि पुर्‍याइए खरिपाटी क्वारेन्टाइन

विभिन्न देशबाट शनिबार नेपाल फर्किएका ६२ नेपालीलाई शनिबार साँझ नै भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पुर्‍याइएको छ । विश्वभर कोरोनाभाइरसको महामारी फैलिएपछि दुबई, कतारलगायतका विभिन्न देशबाट ६२ नेपाली स्वदेश फर्किएका हुन् ।

थाई एयरवेजबाट ४९ र एयर इण्डियाबाट १३ जनालाई शनिबार नेपाल फर्काइएको हो । स्वदेश फर्काइएका उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पठाएको थियो । ७६ वर्षीया एक वृद्धासहित ५ महिला र ५७ जना पुरुषलाई क्वारेन्टाइनमा राखिएको छ । विमानस्थलमा ज्वरो नापिएका उनीहरुको क्वारेन्टाइनमा ल्याएर पनि ज्वरो परीक्षण गरिएको नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिवप्रसाद पौडेलले जानकारी दिए ।

क्वारेन्टाइनमा दुई जना चिकित्सकसहित नर्स र अन्य स्वास्थ्यकर्मी गरी ५ जना सेवामा खटिएका छन् र एउटा एम्बुलेन्स तथा एम्बुलेन्स चालक पनि तयारी अवस्थामा राखिएको छ । उनीहरुको स्वाब भने आइतबार सङ्कलन गरिनेछ । विमानस्थलबाट उनीहरुलाई बसमा राखेर स्कर्टिङ गर्दै सुरक्षित रुपमा पौने ६ बजे क्वारेन्टाइन पुर्‍याएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।

उनीहरुलाई कम्तिमा १४ दिन क्वारेन्टाइनमा राखिने छ भने त्यसबीचमा कोरोनाभाइरस सङ्क्रमण पोजेटिभ भेटिए उपचारका लागि सहिद शुक्रराज ट्रपिकल सरुवा रोग नियन्त्रण अस्पताल टेकुमा लगिने छ । स्वेच्छाले देश फर्किएका उनीहरु क्वारेन्टाइनमा रहँदाको खर्च आफैंले व्यहोर्नेछन् । नेपाल विद्युत प्राधिकरणको चमेनागृहमा खाना बनाएर प्याकिङ गरी उनीहरुलाई पठाइएको छ र क्वारेन्टाइनमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारका सबै व्यवस्थापन मिलाइएको छ । क्वारेन्टाइनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा दस्ताले सुरक्षा दिएको छ ।

कोरोनाभाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले लगाएको अस्थायी प्रतिबन्धलाई उल्लङ्घन गर्दै दुबई, कतारलगायतका देशहरुमा रहेका नेपालीहरु अन्यत्र ट्रान्जिट बनाएर नेपाल आएको बताइएको छ । युरोपका सबै मुलुक, पश्चिम एशियालगायत खाडी मुलुक, इरान, टर्की, मलेशिया, दक्षिण कोरिया, जापानका नागरिकलाई चैत ७ देखि वैशाख ३ सम्मका लागि नेपाल आउन सरकारले गत बुधबार नै प्रतिबन्ध लगाएको थियो ।

केही समयअघि कोरोनाको आशङ्कामा सरकारले चीनबाट ल्याएका १ सय ७५ जनालाई पनि सोही क्वारेन्टाइनमा राखिएको थियो । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर