newskoseli.Com

सरकारले बनायो ‘प्यासेन्ट रिसिभिङ टिम’ : शंकास्पद र संक्रमितलाई तत्काल अस्पताल पुर्‍याइने

कोरोनाभाइरसबाट प्रभावित वा शङ्कास्पद व्यक्ति देखिए वा बिरामी भएको खबर प्राप्त भए तत्काल उद्धार गरी अस्पताल पुर्‍याउन गृह मन्त्रालयले गृहमन्त्री थापाकै संयोजकत्वमा ‘प्यासेन्ट रिसिभिङ टिम’ गठन गरी काम सुरु गरेको छ ।

कोरोनाभाइरस रोकथामको प्रभावकारी उपाय अपनाउन र तत्कालै समस्या सम्बोधन गर्न मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रमा सबै सुरक्षा निकाय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधि रहेको ‘ज्वाइन्ट अपरेसन सेन्टर’ समेत स्थापना गरिएको मन्त्रालयले जनाएको छ । उक्त कार्यमा सहयोग गर्न र शङ्कास्पद बिरामी देखिएमा तुरुन्त खबर गर्न तथा कालोबजारीको सूचनाबारे तत्कालै स्थानीय प्रशासनलाई जानकारी गराउन समेत सरकारले सबैमा आग्रह गरेको छ ।

थप अनुराेध र चेतावनी

मन्त्रालयले सिट क्षमताभन्दा बढी यात्रु नचढाउन र भीडभाड नगरी यात्रा गर्न पनि यातायात व्यवसायी र यात्रुलाई अनुरोध गरेको छ । यात्रुबाहक सार्वजनिक सवारी धनीले सवारीलाई ‘डिस इन्फेक्सन’ गराउन समेत मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा जारी विज्ञप्तिमा अनुरोध गरिएको छ । उपभोग्य सामग्रीको कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरी तथा कालोबजारी गर्ने एवं मिसावट गर्ने–गराउनेलाई कानुनअनुसार कडा कारबाही गरिने चेतावनी समेत सोही विज्ञप्तिमार्फत दिइएको छ । दैनिक उपभोग्य वस्तु पर्याप्त मात्रामा रहेकाले आफूलाई आवश्यक पर्ने परिमाणमा मात्रै खरिद गर्न भनिएको छ । विज्ञप्तिमा चैत मसान्तसम्म तालिम, सेमिनार, गोष्ठी, सभा, सम्मेलन बन्द गर्न पनि भनिएको छ ।

मन्त्रालयले आइतबार साँझ विज्ञप्तिमार्फत १९ बुँदे निर्णय सार्वजनिक गर्दै कोरोनाभाइरसको सम्भावित जोखिमबाट बच्ने कार्यमा हातेमालो गर्न अनुरोध समेत गरेको छ । कोरोनाभाइरसको सम्भावित सङ्क्रमण हुन नदिन सिनेमा हल, सांस्कृतिक केन्द्र, रङ्गशाला, खेलमैदान, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जनस्थल, डान्सबार तथा क्लबलाई चैत मसान्तसम्म बन्द गर्न भनिएको छ ।

अत्यावश्यकबाहेक आवतजावत एवं हिँडडुल नगर्न अनुरोध गर्दै सरकारले सामाजिक, सांस्कृतिक र त्यस्तै कार्य मठमन्दिर, गुम्बा, मस्जिद, चर्च र पार्टी प्यालेसजस्ता सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी मानिस भेला नहुन पनि दोहोर्‍याएको छ ।

अरू यस्ता व्यवस्था

ज्वरो मापन गर्ने उपकरणको व्यवस्था गरी व्यक्तिको स्वास्थ्य जाँच गरेर मात्र प्रवेश गराउने व्यवस्था मिलाउन सरकारले होटल, मोटेल, रिसोर्ट, लज, रेष्टुराँ, बार, सपिङ मलका सञ्चालकलाई आग्रह गरेको छ । सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी सङ्क्रमणबाट जोगाउन अनिवार्यरुपमा स्वास्थ्य जाँचको व्यवस्था र सुरक्षामा सरकारले कडाइ गरेको छ । अत्यावश्यक कामबाहेक नाकामा नजान समेत सरकारले भनेको छ ।

सरकारले देशैभरिका अत्यावश्यक बाहेकका सेवा बन्द गरिए पनि सबै सरकारी संस्था–कार्यालय खुला रहेकाले कर्मचारीलाई बिदा नबस्न आग्रह गरेको गृहमन्त्रालयले जनाएको छ । सरकारको उक्त निर्णय कार्यान्वयन भए–नभएको बारेमा अनुगमन गरी कारबाही गर्न प्रहरी प्रशासनलाई निर्देशन समेत दिइएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर