newskoseli.Com

लकडाउन लम्बियो चैत २५ सम्म : बिजुलीमा २५% र खाद्यवस्तुमा १०% छुट

शनिबार साँझ सम्पन्न भएको मन्त्रिपरिषदको बैठकले हाल जारी लकडाउन २५ गते राति १२ बजेसम्म लम्ब्याउने निर्णय गरेको छ । कोरोनाभाइरस (कोभिड( १९) को संक्रमण फैलन नदिन घोषणा गरिएको लकडाउन लम्ब्याउने निर्णय सरकारले गरेको हो ।

नेपालमा कोरोनाभाइरस संक्रमणको दोस्रो केस सोमबार (१० चैत) मा फेला परेलगत्तै सोसम्बन्धमा गठित उच्चस्तरीय समितिको बैठकले मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म कायम रहने गरी साता लामो लकडाउनको घोषणा गरेको थियो । लकडाउनको अवधि सकिनुभन्दा दुई दिनअघि कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउनको अवधि थप गर्नुपर्ने निर्णय गरेको थियो ।

त्यसलगत्तै बसेको मन्त्रिपरिषदको बैठकले अन्तर्राष्ट्रिय सीमा नाकाबाट यात्रु आवागमनमा लगाइएको रोक समेत चैत २५ गते राति १२ बजेसम्म नै कायम राख्ने निर्णय गरेको छ । संक्रमण रोग ऐनसम्बन्धी आदेश पनि चैत २५ सम्म कायम राख्ने निर्णय गरिएको जानकारी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले दिएका छन् ।

अरु यस्ता निर्णय

कोरोनाभाइरसबाट प्रभावितहरुलाई सरकारले राहत प्याकेज पनि घोषणा गरेको छ । मन्त्रिपरिषद्को बैठकले १ सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकहरुलाई फागुन र चैतको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ । फागुन र चैत महिनाको विद्युत, खानेपानी, टेलिफोन महसुलको भुक्तानी वैशाख मसान्तसम्म बुझाएमा विलम्ब शुल्क वा जरिवाना नलाग्ने कुरा पनि राहत प्याकेजमा समेटिएको छ ।

त्यसैगरी, खाद्य संस्थानले बेच्ने दाल, चामललगायतका खाद्यवस्तुमा १० प्रतिशत छुट दिने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले बेच्ने चामल, पिठो, दाल, तेल, चिनीलगायतका वस्तुमा १० प्रतिशत छुट दिइने भएकाे छ ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर