newskoseli.Com

राधेराधेस्थित १७ तले भवन बन्यो विपतकाे खाद्यान्न भण्डार

कोभिड– १९ को सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउन लम्बिँदै गए जिल्लामा खाद्यान्न अभाव हुन नदिन मध्यपुरथिमिको राधेराधेस्थित १७ तले खालि भवनमा खाद्यान्न भण्डार गरिने भएको छ । विश्व नै कोभिड– १९ को महामारीको चपेटामा परिरहेको अवस्थामा नेपालमा पनि सङ्क्रमण फैलन थालेपछि सरकारले २५ गतेसम्मका लागि थप गरेको लकडाउन लम्बिँदै गए खाद्यान्न अभाव हुन नदिन यहाँ खाद्य सामग्री भण्डारण गरिने भएको हो ।

सो भवनमा नेपाली सेनाको नेतृत्वमा अत्यावश्यक खाद्यान्न भण्डारण गर्ने र अभाव भएमा जिल्लाका चारै वटा नगरपालिकामा वितरण गर्ने गर्ने तयारी भएको हो । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, नेपाली सेनाको वीरदल गणका गणपति कर्णेल शिवप्रसाद पौडेल, प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, सशस्त्र प्रहरी दुवाकोटका प्रहरी उपरीक्षक विश्वप्रसाद भट्टराईसहितको टोलीले सोमबार उक्त भवनको अनुगमन गरी खाद्य भण्डारका लागि छनोट गरेको हो ।

न्याैपानेले दिए स्वीकृति, प्रशासनले दियाे पत्र

राधेराधेस्थित दुर्गाप्रसाद न्यौपानेको सो भवन छनोटपश्चात प्रयोगविहीन १७ तले उक्त भवन हालको सङ्कटका बेला प्रयोग गर्न माग गरिएको हो । विपदको यसबेला निःशुल्क प्रयोग गर्ने गरी सुरक्षा फौजलाई उपलब्ध गराउन न्यौपानेले स्वीकृति दिएका छन् । ततपश्चात् जिल्ला प्रशासन कार्यालयले उक्त भवन प्रयोग गर्नेबारे न्यौपानेलाई पत्राचार गरिसकेको छ ।

सो भवन खाद्यान्न भण्डारण तथा वितरणका लागि प्रयोग गरिने भएपछि नेपाली सेनाको वीरदल गणको सूर्यविनायकस्थित ब्यारेकबाट खटिएका सेनाको टोलीले सरसफाइ गरी तयारी अवस्थामा राखेको गणपति शिवप्रसाद पौडेलले जानकारी दिए । यसका लागि नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले ५० थान त्रिपाल उपलब्ध गराएको छ । त्रिपाल ओछ्याएर खाद्यान्न भण्डारणका लागि ठाउँ तयार पारी राखिएको छ ।

लकडाउन लम्बिदै जाँदा खाद्य सामग्रीको अभाव भएमा जिल्लाका चारवटै नगरपालिकासँग समन्वय गरी सम्बन्धित नगरपालिकाको वडा कार्यालयमार्फत नागरिकलाई खाद्य सामग्री वितरण गर्न सकिने गरी तयारी गर्न लागिएको वीरदल गणका गणपति पौडेलले जानकारी दिए । यसअघि २०७२ को महाभूकम्पको विपदमा पनि नेपाली सेना विवादरहितरुपमा जनताको सेवामा खटिएको थियो । अहिले स्वास्थ्य सङ्कटका बेलामा पनि खरिपाटीमा क्वारेन्टाइन निर्माणदेखि कोरोनाभाइरस नियन्त्रणको अभियानसँगै पीपीई, मास्क, पञ्जालगायतका सामग्रीको व्यवस्थापनमा नेपाली सेनाको वीरदल गण सक्रिय हुँदै आएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर