newskoseli.Com

कर्णालीमा देखिएन कोरोना : यस्तो छ प्रतिरोधको तयारी

कोरोनाको सङ्क्रमण भएको आशङ्कामा हालसम्म कर्णालीबाट पठाइएका सबै नमूना परीक्षणमा कोरोना नभएको पुष्टि भएको छ । अहिलेसम्म १७ जनाको नमूना पठाइएकामा सबैको ‘नेगेटिभ’ देखिएको छ ।

भारतलगायत विभिन्न देशबाट आएका व्यक्तिको नमूना संकलन गरी परीक्षण गर्न काठमाडौं पठाइएको थियो । स्वास्थ्य निर्देशनालय सुर्खेतका भेक्टर कन्ट्रोल अधिकृत श्याम आचार्यका अनुसार अहिलेसम्म परीक्षणका लागि पठाइएका नमूनामा कोरोनाको सङ्क्रमण देखिएको छैन ।

‘यस प्रदेशबाट १७ जनाको स्वाब शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौंमा पठाइएको छ,’ उनले भने– ‘पठाएका सबैमा कोरोनाको सङ्क्रमण नभएको पुष्टि भएको छ ।’ उनका अनुसार सुर्खेतका एक व्यक्तिमा मौसमी रुघाखोकी भएको पाइएको छ । सोमबार कर्णालीका विभिन्न जिल्लाबाट ११ जनासम्मको नमूना संकलन गरी परीक्षणका लागि पठाउने तयारी भएको छ र तीमध्ये सुर्खेतका तीन जनाको नमूना तयारी अवस्थामा रहेको जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए ।

त्यसैगरी, परीक्षणका लागि नमूना पठाइएकामध्ये रुकुम पश्चिमका एक र सुर्खेतका एक युवकमा कोरोनाको सङ्क्रमण हुने आशङ्का गरिएको थियो । उनीहरुको रिपोर्ट पनि नेगेटिभ आएको छ । कर्णाली प्रदेशबाट हालसम्म पठाइएका रिपोर्टमध्ये पाँच जनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेश अस्पतालले जनाएको छ । अहिलेसम्म सुर्खेतका १ सय ८६, कालीकोटका ५१, डोल्पाका ८५ र जुम्लाका ३९ जना क्वारेन्टाइनमा छन् ।

यस्तो छ प्रतिरोधको तयारी

कोरोना भाइरस रोकथामका लागि स्थापना गरिएको हेल्थ डेस्क, क्वारेन्टाइन र आइसोलेसनमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई कर्णाली प्रदेश सरकारले भत्ता दिने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषदको बैठकले सुरक्षाकर्मीलाई सुरु तलबको ५० प्रतिशत र स्वास्थ्यकर्मीलाई शतप्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।

कर्णाली प्रदेशमा हालसम्म झन्डै ३ सय वटा आइसोलेसन शयया तयार भएका छन् । अहिलेसम्म सबैभन्दा बढी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १ सय २० आइसोलेसन शयया तयारी अवस्थामा छन् । प्रदेश अस्पताल सुर्खेतमा ५०, दैलेख जिल्ला अस्पतालमा ३०, सल्यान जिल्ला अस्पतालमा २२, रुकुममा ५, डोल्पामा ८, हुम्लामा ३, जाजरकोटमा ६, मुगु र कालीकोटमा ७–७ बेडमा आइसोलेसन कक्ष तयारी अवस्थामा रहेको सामाजिक विकासमन्त्री दल रावलले बताए ।

मन्त्रीहरुको १ महिनाको तलब विपद् कोषमा, लकडाउन उल्लंघन गर्नेमाथि कारबाही

मन्त्रिपरिषदका सदस्यले एक–एक महिनाको तलब कोरोना विपद् कोषमा जम्मा गर्ने निर्णय गरिएको प्रदेश सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन् । कोरोनाभाइरसको सङ्क्रमण फैलन नदिन र उच्च सतर्कता अपनाउन गरिएको लकडाउन अवज्ञा गर्नेहरूलाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विभिन्न स्थानबाट ३ सय ३५ सवारी र ३ जनालाई नियन्त्रणमा लिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर