newskoseli.Com

विदेशबाट आएका १७७ सम्पर्कमा, कोही छैन क्वारेन्टाइनमा

विदेशबाट सिन्धुली घर फर्किएका १ सय ७७ जना स्थानीय सरकारको सम्पर्कमा आएका छन् । विदेशबाट आएकाको पहिचान गर्ने क्रममा उनीहरु स्थानीय सरकारको सम्पर्कमा आएका हुन् । जिल्ला प्रशासन कार्यालयमा पठाइएको विवरणअनुसार विदेशबाट हालसम्म घर फर्किएका १ सय ७७ जना सम्पर्कमा आएको र उनीहरुमाथि निगरानी भइरहेको उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी उपेन्द्र न्यौपानेका अनुसार विदेशबाट आउने व्यक्तिको विवरण सङ्कलन कार्य जारी रहेको छ । विदेशबाट आएका व्यक्तिमाथि निगरानी बढाइएको र उच्च ज्वरो तथा रुघाखोकी लाग्नेजस्ता लक्षण देखिएमा त्यस्ता व्यक्तिलाई उपचारका लागि तत्कालै स्वास्थ्य संस्थामा पठाउने र ती व्यक्तिको स्वाव परीक्षण गरिने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

विदेशबाट घर फर्किएकामध्ये ८५ जना भारतबाट आएका छन् । भारतबाट घर फर्किएकामध्ये कमलामाई नगरपालिकामा ३२, दुधौली नगरपालिकामा २१, गोलन्जोर गाउँपालिकामा ५, तिनपाटन गाउँपालिकामा ३, हरिहरपुरगढी गाउँपालिकामा ४, फिक्कल गाउँपालिकामा ६ र मरिण गाउँपालिकामा १४ जना रहेका छन् । त्यस्तै, तेस्रो मुलुकबाट घर फर्किएकाहरुमा कमलामाई नगरपालिकामा ८, दुधौली नगरपालिकामा १८, गोलन्जोर गाउँपालिकामा ३, तिनपाटन गाउँपालिकामा ६, घ्याङलेख गाउँपालिकामा ८, हरिहरपुरगढी गाउँपालिकामा २५, सुनकोसी गाउँपालिकामा ४, फिक्कल गाउँपालिकामा ५, मरिण गाउँपालिकामा १४ गरी कूल ९१ जना छन् ।

जिल्ला प्रशासन कार्यालयले सबै पालिकालाई पत्राचार गर्दै विदेशबाट आएकाको विवरण सङ्कलन गर्न आग्रह गरेको थियो । स्थानीय तहले दैनिक रुपमा अहिले पनि विवरण सङ्कलन भैरहेको जनाएको सूचना अधिकारी न्यौपानेले बताए । हालसम्म सम्पर्कमा आएका १ सय ७७ मध्ये चैत ११ यता भारतबाट २ जना मात्र आएका छन्, बाँकी सबै त्यसअघि नै आएको पाइएको उनले बताए ।

विदेशबाट आएका व्यक्तिलाई वडा कार्यालय तथा स्थानीय जनप्रतिनिधिको सम्पर्कमा रहन उनले आग्रह गरेका छन् । विदेशबाट आएर होम क्वारेन्टाइनमा बसिरहेको भए पनि त्यस्ता सूचना स्थानीय तह तथा जनप्रतिनिधिलाई दिन उनको आग्रह छ ।

सवारी पास बन्द

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सवारी पास दिने कार्य बन्द गराएको छ । कोभिड– १९ को सङ्क्रमण हुनबाट बच्न सरकारले गरेको लकडाउनलाई प्रभावकारी रुपमा लागू गराउन सवारी पास बन्द गरेको सूचना अधिकारी न्यौपानेले जनाए । उनका अनुसार अत्यावश्यक सेवाबाहेक अन्य सवै सवारी सञ्चालनमा बिहीबार दिउँसो १२ बजेदेखि पूर्ण रुपमा रोक लगाइएको हो ।

२०१ शय्याको क्वारेन्टाइन, ३३ शय्याको आइसोलेसन कक्ष

सिन्धुलीमा हालसम्म २०१ शय्याको क्वारेन्टाइन र ३३ शय्याको आइसोलेशन कक्ष निर्माण गरिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार कमलामाई नगरपालिकामा ५०, दुधौली नगरपालिकामा ३०, गोलन्जोर गाउँपालिकामा २०, तिनपाटन गाउँपालिकामा २०, घ्याङलेख गाउँपालिकामा २४, हरिहरपुरगढी गाउँपालिकामा १७, सुनकोसी गाउँपालिकामा २४ फिक्कल गाउँपालिकामा ८, मरिण गाउँपालिकामा ८ गरी कूल २०१ शय्याको क्वारेन्टाइन निर्माण गरिएका छन् । हालसम्म सिन्धुलीमा एक जनालाई पनि क्वारेन्टाइनमा राखिएको छैन ।

यस्तै, कमलामाई नगरपालिकामा १४, दुधौली नगरपालिकामा ३, गोलन्जोर गाउँपालिकामा २, तीनपाटन गाउँपालिकामा ८, सुनकोसी गाउँपालिकामा २, फिक्कल गाउँपालिकामा २ र मरिण गाउँपालिकामा २ गरी कूल ३३ शय्याको आइसोलेसन कक्ष निर्माण गरिएको प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर