newskoseli.Com

सशस्त्र प्रहरीको टोली नै क्वारेन्टाइनमा, यस्तो परेछ कारण

वेदकोटकी ४१ वर्षीया एक महिलालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै तिनलाई नियन्त्रणमा लिने सशस्त्र प्रहरी टोलीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । ती महिलालाई नियन्त्रणमा लिन खटिएका सशस्त्र प्रहरीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको ब्रह्मदेवस्थित सशस्त्र प्रहरी बल बीओपी पोस्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रामराज खनालले जानकारी दिए ।

संक्रमण भेटिएका व्यक्तिको उद्धार तथा स्वास्थ्य परीक्षणमा खटिएको टोली सेल्फ क्वारेन्टाइनमा रहेको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले पनि जानकारी दिए । संक्रमित ती महिलासँगै अरु ५ जना भारतको उत्तराखण्डबाट १४ चैतमा लुकीछिपी कञ्चनपुरको ब्रह्मदेव नाकाबाट स्वदेश आएका थिए । ‘भारतबाट नेपाल प्रवेश गर्दा त्यो दिन पाँच जनाको समूह हाम्रो ढोकामा आइपुग्यो,’ ब्रह्मदेवस्थित सशस्त्र प्रहरी बल बीओपी पोस्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रामराज खनालले भने– ‘गाडीको पछाडिपट्टि राखेर हाम्रो टोलीले गड्डाचौकी पुर्‍याएको थियो ।’

उद्धार गरिएकामध्ये एक जनालाई सङ्क्रमण देखिएपछि त्यो दिनको ड्युटी टोली ब्यारेकभित्रै सेल्फ क्वारेन्टाइनमा बसेको उनले प्रष्ट पारे । ‘हाम्रोमा अवस्था सामान्य छ, कुनै समस्या छैन’– उनले भने । चैत पहिलो सातादेखि नै कञ्चनपुरको सीमा नाकामा कोरोनाभाइरस नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले आवश्यक सावधानी अपनाएको उनले बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर