newskoseli.Com

लकडाउनमा ‘डाक्टर’ को भेष गरी लागूऔषध खोज्दै कार चढेर काठमाडौंबाट झापा : प्रहरीले पार्‍यो कर्‍याप्प !

नक्कली चिकित्सकको भेष धारण गरेर काठमाडौंबाट झापा आइपुगेका दुई युवकलाई आइतबार बिहान इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ । ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश अधिकारी प्रहरीको नियन्त्रणमा परेका हुन् ।

लकडाउनको समयमा ती युवकहरु बा ६ च ७०१९ नम्बरको कारमा धरान हुँदै काँकडभिट्टा आइपुगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न आएको बताएका उनीहरुमध्ये एक जनाले डा. विनोद श्रेष्ठ नामको नक्कली परिचयपत्र बोकेका थिए ।

काठमाडौंदेखि चिकित्सकको बहाना गरी सुरक्षा जाँच छल्दै काँकडभिट्टा आइपुगेका उनीहरुलाई प्रहरीले मेडिकल काउन्सिलको दर्ता नम्बर समेत माग्दै सोधपुछ गरेपछि उनीहरु नक्कली चिकित्सक भएको पोल खुलेको थियो । दुवै जनालाई प्रहरीले अनुसन्धान अघि बढाउँदै तत्कालका लागि मेचीनगरको क्वारेन्टाइनमा पठाउने भएको छ भने उनीहरुको कार प्रहरी कार्यालयमै राखिएको छ ।

नियन्त्रणमा लिइएका दुवै व्यक्ति लागू औषधको खोजीका लागि छटपटाउँदै आइपुगेको आशङ्का गरिएको प्रहरी उपरीक्षक कोइरालाले बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर