newskoseli.Com

महाप्रसाद अधिकारी बने राष्ट्रबैंकको गभर्नर

नेपाल राष्ट्रबैंकका तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकाल सकिएको १९ दिनपछि सरकारले महाप्रसाद अधिकारीलाई नयाँ गभर्नर नियुक्त गरेको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत रहेका अधिकारीलाई मन्त्रिपरिषदको सोमबारको बैठकले गभर्नरमा नियुक्त गरेको हो ।

झण्डै तीन दशकभन्दा बढी समय मुलुकको केन्द्रीय बैंकको विभिन्न भूमिकामा रहेर काम गरेका अधिकारीले पाँच वर्षसम्म राष्ट्रबैंकलाई नेतृत्व प्रदान गर्ने भएका छन् । चैत १८ मा गठन भएको अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वको समितिले अधिकारीसहित तीन जनाको नाम सिफारिस गरेको थियो । समितिले अधिकारीसहित नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र केही समय अघि मात्रै अर्थसचिवबाट अवकाश भएका राजन खनालको नाम सिफारिस गरेको थियो । तिनै तीन जनामध्येबाट सरकारले अधिकारीलाई नियुक्त गरेको हो ।

तत्कालीन गभर्नर नेपाल नियुक्त हुँदा समेत अधिकारी गभर्नरका लागि तीन जनामा परेका थिए । नेपालले चैत ५ मा गभर्नरको पाँचवर्षे कार्यकाल पूरा गरेर अवकाश पाएका थिए । सिफारिस समितिले गभर्नरका लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रको लब्धप्रतिष्ठित व्यक्तिमध्येबाट दुई जना छान्नुपर्ने कानुनी व्यवस्था छ । एक जना भने राष्ट्रबैंकका डेपुटी गभर्नरमध्येबाट छान्नुपर्ने प्रावधान छ । सोही व्यवस्थाअनुसार नै अधिकारीलाई नियुक्त गरिएको हो ।

खोटाङमा जन्मेका अधिकारीले भारतबाट चार्टर्ड एकाउन्टेन्टको अध्ययन पूरा गरेका थिए । चार्टर्ड एकाउन्टेन्टको पृष्ठभूमिबाट राष्ट्रबैंकको गभर्नर बन्ने उनी नै पहिलो व्यक्ति हुन् । नवनियुक्त गभर्नर अधिकारी हालका अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडा नेपाल राष्ट्रबैंकको गभर्नर हुँदा उनको कार्यकाललाई सफल बनाउन सहयोग पुर्‍याउनेमध्येका एक रहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर