newskoseli.Com

तब्लिगी जमातबाट फर्किएका थप २ जनामा कोरोना : आरडीटी परीक्षणको नतिजा

र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोनाभाइरस परीक्षण गर्दा भारतको दिल्लीस्थित निजामुद्दीन मरकजबाट फर्केका दुई नेपालीमा पोजेटिभ नतिजा आएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्गलबार राति द्रुत परीक्षण किटबाट कोरोना परीक्षण गर्दा दुई जनाको रिपोर्ट पोजेटिभ आएको सिनियर कन्सल्टेन्ट जनरल फिजिसियन डा. रणजित झाले जानकारी दिए ।

तब्लिगी जमातद्वारा आयोजित सभाबाट आएका खडग नगरपालिकाका तीन, सुरुङ्गा नगरपालिका, अग्निसाइर कृष्ण सवरण, विष्णुपुर र तिलाठी कोइलाडी गाउँपालिकाका एक–एक गरी ७ जनाको द्रुत परीक्षण गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए । तीमध्ये खडग नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका एक–एक जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

उनीहरुले दिल्लीको निजामुद्दीन मरकजमा सहभागी भएर फर्किएको ३२ दिन बितेको बताए पनि स्थानीयवासी भने चैत ११ मा मात्रै उनीहरु घर फर्किएको बताउँछन् । सप्तरी फर्किएका उनीहरु घरमै बसेका थिए । रिपोर्ट पोजिटिभ आएपछि दुई जनालाई राजविराजस्थित अस्पतालमा आइसोलेसनमा राखिएको छ ।

सात जनाकै स्वाब परीक्षणका लागि अस्पतालले राति नै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाएको छ । अन्य पाँच जनालाई खडग नगरपालिकास्थित क्वारेन्टाइनमा पठाइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट दासले बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर