newskoseli.Com

कैदीबन्दीले आफ्नो छाक काटेर मजदुरका परिवारलाई बाँडे ८ क्विन्टल चामल

कोरोनाभाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण प्रभावित ज्यालादारी मजदुरी गरी खाने परिवारलाई मङ्गलबार कञ्चनपुर कारागारका कैदीबन्दीहरुले आफ्नो दुई छाकको खाना जोगाएर ८ क्विन्टल चामल उपलब्ध गराएका छन् ।

कैदीबन्दीहरुले ६ क्विन्टल चामल र १ बोरा नुन प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडामार्फत ज्यालादार मजदुरी गरी खाने विपन्न परिवारलाई वितरणका लागि हस्तान्तरण गरेका हुन् । कैदीबन्दीहरुले उपलब्ध गराएको चामल र नुन आवश्यकता भएका ठाउँका व्यक्तिहरुलाई वितरण गरिने प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए । ‘लकडाउनका कारण प्रभावित भएका दैनिक ज्याला मजदुरी गरेर खाने परिवारको पहिचान गरी आवश्यकताका आधारमा कैदीबन्दीले उपलब्ध गराएको चामल वितरण गरिने छ’– उनले भने ।

अरु २ क्विन्टल चामल भने कैदीबन्दीहरुले कारागारलगायतका क्षेत्रमा दाउरा बेचेर गुजारा चलाउने वेदकोट नगरपालिका क्षेत्रका १३ जनालाई १५ किलोका दरले वितरण गरे ।

सङ्क्रमण हुन नदिन सावधानी

सो कारागारमा ९५ पुरुष र ३० जना महिला राख्न सकिने भए पनि ३ सय १६ पुरुष र १८ महिला कैदीबन्दीलाई राखिएको छ । कारागारमा २ नाबालक समेत छन् । कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दीलाई राखिएकाले सावधानी अपनाइएको छ । जेलर शयामराज भट्टले भने– ‘थोरै ठाउँमा धेरै जनालाई राख्नुपरेको छ, त्यसमा कोरोनालगायतको संक्रमण भए नियन्त्रण गर्न निकै गाह्रो हुन्छ त्यसैले पूर्वसावधानी अपनाइएको छ ।’

कैदीबन्दीलाई मासुजन्य पदार्थ खान कारागार प्रशासनले रोक लगाएको छ । मासुजन्य पदार्थमा कीटाणु हुन सक्ने र सङ्क्रामक रोगहरु फैलन सक्ने भएकाले मासुजन्य पदार्थ खान रोक लगाइएको जेलर भट्टले बताए । ‘सहजै पच्ने खालका खाने कुरा कैदीबन्दीलाई दिन थालेका छौं’ उनले भने– ‘कारागारमा रहेका कैदीबन्दीलाई कोरोनालगायतका अन्य सङ्क्रामक रोगहरु फैलन नदिन सजगता अपनाएका छौं ।’

कोरोनाभाइरसको सङ्क्रमण हुन नदिन चैत ११ देखि देशमा लकडाउन गरिएपछि कारागारमा रहेका कैदीबन्दीलाई सुरक्षित तरिकाले राख्न खानपानका साथै सरसफाइका कार्य अगाडि बढाइएको उनले बताए ।

कैदीबन्दीका आफन्त र अन्यलाई समेत भेटघाट बन्द गरिएको छ । बाह्य व्यक्तिको प्रवेशले कोरोनाको सङ्क्रमण हुन सक्ने सम्भावनलाई ध्यानमा राख्दै भेटघाट बन्द गरिएको जेलर भट्टको भनाइ छ । कारागार सुरक्षार्थ तैनाथ सुरक्षाकर्मी र कारागारका कर्मचारीलाई साबुन–पानीले हात धोएर स्यानिटाइजर प्रयोग गरेपछि मात्र भित्र प्रवेश गर्न दिइने गरिएको छ ।

निःशर्त रिहाइको माग

कारागारका कैदीबन्दहरुले मानवीयता देखाई आफूहरूलाई निःशर्त कैदमुक्त गर्न माग गरेका छन् । आफूहरूको रिहाइको माग गर्दै उनीहरूले मङ्गलबार प्रमुख जिल्ला अधिकारी खतिवडामार्फत प्रधानमन्त्रीको निजी सचिवालयमा ज्ञापनपत्र बुझाएका छन् । कैदीबन्दीहरुले बुझाएको ज्ञापनपत्रमा निःशर्त कैदमुक्त गरी कैदीबन्दीहरुलाई आमनागरिक सरह जिउनका लागि अवसर प्रदान गरिदिन माग गरिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर