newskoseli.Com

कोरोना अस्पतालले पायाे ०६२/६३ को जनआन्दोलनको रकम

जनान्दोलन २०६२/०६३ मा नागरिकस्तरबाट संकलन गरी आन्दोलनमा घाइतेको उपचारबाट बचेको रकम कोरोना विशेष अस्पताललाई प्रदान गरिएको छ । बुटवलका समाजसेवी बाबुराम भट्टराईको संयोजकत्वमा गठित जनआन्दोलन आकस्मिक राहत कोष व्यवस्थापन समितिले उक्त रकम बुटवल धागो कारखानामा निर्मित कोरोना विशेष अस्थायी अस्पतालका लागि बुधबार हस्तान्तरण गरेको हो ।

संयोजक भट्टराईले सो रकम शुक्रबार प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीलाई हस्तान्तरण गरे । उक्त समयमा कोषमा जम्मा भएको रकममध्ये जनान्दोलनका घाइतेको उपचार गरेर केही बचत रहेको थियो । तत्कालीन अवस्थामा घाइतेको उपचारबाट बचेको रकमबाट लुम्बिनी अञ्चल अस्पतालमा बिरामी प्रतीक्षालय निर्माण गरी बाँकी रहेको ५ लाख ८७ हजार ४ सय ९५ रुपैयाँ कोरोना उपचारका लागि बनाइएको कोषमा हस्तान्तरण गरिएको हो ।

उक्त रकम बैंकमा रहिरहनुको औचित्य नरहेकाले अहिलेको विशेष परिस्थितिमा अस्पताल निर्माणका लागि हस्तान्तरण गरिएको अध्यक्ष भट्टराईले बताए ।

त्यसैगरी, कोभिड– १९ को जोखिम नियन्त्रण तथा रोकथामका लागि खटिएका सुरक्षाकर्मीका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा सङ्गठन राष्ट्रिय युवा सङ्घ पश्चिम नवलपरासीले व्यक्तिगत सुरक्षात्मक सामग्री (पीपीई) उपलब्ध गराएको छ । भाइरसको जोखिमबाट नागरिकलाई जोगाउन विशेष गरी सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी र ट्राफिक प्रहरीका लागि ४१ थान पीपीई प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई हस्तान्तरण गरिएको युवा सङ्घका जिल्ला संयोजक युवराज डुम्रेले जानकारी दिए ।

यस्तै, रुपन्देहीस्थित भैरहवा क्याम्पसमा अध्ययनरत विद्यार्थीको संस्था राइजिङ क्लबले पनि सिद्धार्थनगर नगरपालिकाको कोरोना विपद् कोषमा ११ हजार १ सय ११ रूपैयाँ जम्मा गरेको छ । क्लबले नगर प्रमुख हरिप्रसाद अधिकारीलाई उक्त रकम हस्तान्तरण गरेको हो । देश महासंकटमा परेका बेला सदस्यले पनि सकेको आर्थिक सहयोग गरौं भनेर उक्त सहयोग गरिएको क्लबका अध्यक्ष सागर न्यौपानेले बताए ।

त्यस्तै, पाल्पाको रामपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा पनि नेपाली कांग्रेस रामपुर नगरले १ लाख ७७ हजार रूपैयाँ बराबरको राहत सहयोग गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर