प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिउँसो ११ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् । पार्टीभित्र सल्लाह नै नगरी सोमबारको मन्त्रिपरिषदबाट सिफरिस गरेर राष्ट्रपतिद्वारा तत्काल जारी गरिएका दुई अध्यादेशको पार्टीभित्र र बाहिर चर्को विरोध भएपछि शुक्रबार अर्को बैठक बोलाइएको हो ।
मंगलबार र बुधबार प्रधानमन्त्रीले पार्टीका शीर्ष नेताहरुसँग विभिन्न चरणमा छलफल गरेका थिए । बुधबार साँझ उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत विस्तृत छलफल गरेका थिए । बुधबारसम्म आइपुग्दा प्रधानमन्त्री ती विधेयक फिर्ता गर्न सकारात्मक भएको बताइएको छ । शुक्रबारको मन्दिपरिषदबाट निर्णय गराई ती दुई अध्यादेशमध्ये राजनीतिक दलसम्बन्धी एउटा अध्यादेश फिर्ता गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।
विभिन्न राजनीतिक पार्टी र अन्ततः आफ्नै पार्टी समेत फुटाउने रणनीतिका साथ प्रधानमन्त्री ओलीले अगाडि बढाएको अध्यादेश राष्ट्रपतिले तत्कालै लालमोहर लगाएपछि एकाएक राजनीति तरंगित भएको छ । जनकपुरबाट समाजवादी पार्टीका सांसदको ‘अपहरण’ प्रकरणपछि त झन् प्रधानमन्त्रीको नियत र व्यवहारमाथि पार्टीभित्र र बाहिर चर्को आलोचना भइरहेको छ ।