प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष खड्गप्रसाद ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटघाट र छलफल सकिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार दिउँसो भएको दुई अध्यक्षबीचको छलफलपछि दुई अध्यक्षबीच बुधबार सचिवालय बैठक बोलाउने सहमति भएको छ । अध्यक्षद्वय ओली र प्रचण्डबीच करिव एक घन्टा चलेको छलफलमा दुवै अध्यक्षले पार्टीभित्रको पछिल्लो झमेलाबारे आ–आफ्ना कुरा राखेको बालुवाटार स्रोतले बतायो ।
सोमबार कोटेश्वरमा भएको वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष ओली पक्षका शीर्ष र अरु केही नेताहरुबीच भएको द्विपक्षीय छलफलमा भने मंगलबार नै सचिवालय बैठक बोलाउने सहमति भएको चर्चा चलेको थियो । यद्यपि मंगलबार भएको अध्यक्षद्वय बीचको छलफलपछि बुधबार बैठक बस्ने सहमति भएको हो ।