त्रिवेणी गाउँपालिका– ७, रोल्पामा बिहीबार बम विष्फोट हुँदा चार बालबालिकाको ज्यान गएको छ ।
बाख्रा चराएर घर फर्कने क्रममा बेबारिसे बम खेलाउँदा अकस्मात विष्फोट भई चार बालबालिकाको मृत्यु भएको बताइएकाे छ । घटनाको जानकारी पाएलगत्तै घटस्थलमा होलेरी र जुँगारबाट प्रहरी टोली पठाइएको प्रदेश– ५ प्रहरी कार्यालयका डीएसपी नवराज पोखरेलले जानकारी दिएका छन् ।
बिस्फोटमा त्रिवेणी गाउँपालिका– ७ का १४ वर्षीय नोखिराम डाँगी, ११ वर्षिया विमला खत्री, ५ वर्षका विजय खत्री र १३ वर्षका गौरव नेपालीको मृत्यु भएको बताइएको छ । जुँगारबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा गएको प्रहरी टोली बिहीबार साँझ घटनास्थल पुगेको छ ।