सत्तारुढ नेकपाको केन्द्रीय सचिवालयको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ बसेको बैठकमा प्रधानमन्त्री खड्गप्रसाद ओलीले ‘आत्मालोचना’ गरेका छन् ।
सोही बैठकले वैशाख २५ मा पार्टीको स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । बैठकले ‘उपयुक्त समयमा’ वामदेव गौतमलाई प्रतिनिधिसभाको ‘उमेदवार बनाउन पहल गर्ने’ समेत निर्णय गरेको छ । स्थायी कमिटी बैठकको तयारीका लागि वैशाख २४ मा सचिवालय बैठक बस्ने जानकारी सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिए ।
सरकार सञ्चालनका क्रममा भएका कमी–कमजोरीलाई लिएर बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आत्मालोचना’ गरेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए । पार्टी सञ्चालनका क्रममा भएका कमी–कमजोरीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले पनि आत्मालोचना गर्दै अगाडि बढ्ने निर्णय भएको श्रेष्ठले बताए ।
पार्टी एकताको रक्षा एवं सुदृढ गर्ने र पार्टीलाई गुटउन्मूख हुन नदिन पार्टीका सबै तहमा निर्देशन दिने निर्णय पनि बैठकले गरेको उनले बताए । अध्यक्ष तथा प्रधानमन्त्री खड्ग ओली एकातिर र अर्का अध्यक्ष प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाललगायत अर्काेतिर भएर चरम विवादमा फसेको नेकपाको यो बैठकलाई सर्वत्र चासोका साथ हेरिएको थियो ।