नेपालमै पहिलो पटक स्वास्थ्यकर्मीमा कोरोनाभाइरस (कोभिड– १९) को संक्रमण पुष्टि भएको छ । कपिलवस्तुस्थित तौलिहवा अस्पतालमा कार्यरत एक नर्समा मंगलबार कोरोनाभाइरस पोजेटिभ पुष्टि भएको हो ।
प्रदेश– ५ को प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले नर्समा कोरोना संक्रमणको पुष्टि गरेका छन् । मंगलबार कोरोना संक्रमण पुष्टि भएका ८ जना पनि कपिलवस्तु नगरपालिकाकै रहेको उनले जनाए ।
विश्वमा नोबल कोरोनाभाइरस फैलिएको झण्डै ५ महिनासम्म नेपालमा १९१ नागरिकमा कोरोनाभाइरस पुष्टि भैसके तापनि हालसम्म कुनै पनि स्वास्थ्यकर्मीमा यसको संक्रमण भएको थिएन । अझ अनौठो त के छ भने अन्तर्राष्ट्रिय नर्सिङ दिवसकै दिन नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीमा र त्यो पनि नर्समा नै कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।