शुक्रबार बिहानै काेराेनाभाइरसका थप ९ संक्रमितकाे पुष्टि भएकाे छ । बिहीबार साँझसम्म नेपालमा संक्रमितको संख्या २४९ रहेकामा शुक्रबार बिहानकाे समेत गरी कूल संक्रमित संख्या २५८ पुगेकाे छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणअनुसार नयाँ पुष्टि हुनेको संख्या ९ जना रहेको छ । नयाँ संक्रमितहरुमा मकवानपुरका ३७ वर्षीय पुरुष तथा बाँकेकाे नैनापुर– १, ३ र ५ का १८, २०, २२, २५, २५, २७ ३२ र ३६ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले शुक्रबार बिहान ८ बजे जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि बिहीबार काठमाडौंमा २ तथा कपिलवस्तु, नवलपसारी पूर्व, धनुषा र धादिङमा १–१ गरी थप ६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियाे । दिउँसोसम्ममा ३ र साँझ थप ३ जना गरी बिहीबार ६ संक्रमितकाे पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट बिहीबार काठमाडौंको दहचोक निवासी ७ वर्षीय बालक, चन्द्रागिरि नगरपालिकाका ३२ वर्षीय पुरुष, धनुषाकी १७ वर्षीया महिला, कपिलवस्तुकी ६ वर्षीया बालिका, धादिङकी ३० वर्षीया महिला र नवलपरासीका ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् । कपिलवस्तुकी ६ वर्षीया बालिका महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छिन् ।