नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ८८६ पुगेको छ । बुधबार मात्रै थप ११४ जनामा संक्रमण पुष्टि भएसँगै यो संख्या पुगेको हो । यसअघि संक्रमण पुष्टि भएर उपचाररतमध्ये हालसम्म १८३ जना निको भएर डिस्चार्ज भैसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी गराएका हुन् । डा. देवकोटाका अनुसार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी, कोशी प्रयोगशालामा गरिएको परीक्षणबाट झापाका १७ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, हेटौंडास्थित प्रयोगशालामा गरिएको परीक्षणबाट मकवानपुरका १ र रौतहटका ७ गरी ८ जनामा कोरोनाभाइरस पुष्टि भएको छ । त्यसैगरी, पोखरास्थित प्रयोगशालामा गरिएको परीक्षणबाट बागलुङका ६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, दाङमा गरिएको परीक्षणबाट रुकुम पूर्वका ३ र दाङका १५ गरी १८ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी, भेरी अस्पतालमा गरिएको परीक्षणबाट बाँकेका १६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै, काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ प्रयोगशालामा गरिएको परीक्षणबाट ३८ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंबाट पुष्टि हुनेहरुमा सिरहाका १, सिरहा घर भई सप्तरी बस्दै आएका १, बाराका ७, रौतहट घर भई बारामा रहेका १ जना र रौतहटका २८ जना रहेको डा. देवकोटाले जनाएका छन् ।
निकाे भए थप २८ जना
बुधबार थप २८ जना कोरोनाभाइरस जितेर डिस्चार्ज भएका छन् । डा. देवकोटाले दिएको जानकारीअनुसार यो विवरणसँगै निको हुनेको संख्या १८३ पुगेको हो । डा. देवकोटाका अनुसार पर्साका ५ महिला र १६ पुरुष गरी २१ जनाले कोरोना निको भएर बुधबार घर फर्किएका छन् ।
त्यस्तै, कोशी अस्पतालको आइसोलेसनमा उपचाररत उदयपुरका ४ जना र बाँकेका २ तथा बर्दियाका एक जना पनि कोरोना जितेर बुधबारै घर फर्किएका छन् । कोरोनाबाट नेपालमा मुत्यु हुनेको संख्या हालसम्म ४ जना रहेको छ ।
भिडियोमा हेर्नोस् डा. देवकोटाको ब्रिफिङ–
https://www.facebook.com/mohpnep/videos/246917413402978/