नेपालमा कोरोनाभाइरस (कोभिड– १९) का संक्रमितको संख्या १४०१ पुगेको छ । पछिल्लो २४ घन्टामा थप १८९ जनामा संक्रमण पुष्टि भएसँगै यो संख्या पुगेको हो ।
यसअघि संक्रमण पुष्टि भएकामध्ये हालसम्म २१९ जना निको भएर घर फर्किएका छन् भने ६ जना संक्रमितको मृत्यु भैसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबारको नियमित मेडिया ब्रिफिङमा बताएअनुसार पछिल्ला संक्रमितमध्ये १८५ पुरुष र ४ महिला रहेका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणबाट १ सय २४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा पुष्टि भएकामध्ये कपिलवस्तुका ७७, धनुषाका ७, झापाका १, ललितपुकार १, महोत्तरीका ४ जना र रौतहटका ६, सर्लाहीका १७ र सिरहाका ११ जना जना रहेको डा. देवकोटाले बताए ।
रुपन्देहीमा भएको परीक्षणबाट कपिलवस्तुका २९ जनासहित ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बीपी कोइराला राष्ट्रिय स्वास्थ्य जिज्ञान प्रतिष्ठानमा भएको परीक्षणबाट सप्तरीका ९ जनामा कोरोना पुष्टि भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणबाट दाङका १३ र कपिलवस्तुका ३ गरी १६ जनामा कोभिड– १९ पुष्टि भएको छ । वीरगञ्जमा भएको परीक्षणबाट बाराका १ र पर्साका २ गरी ३ जनामा कोरोना पुष्टि भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट दैलेखका १४ जनामा कोरोना पुष्टि भएको छ भने विराटनगरस्थित कोशी अस्पतालमा भएको परीक्षणबाट संखुवासभाका २ जनामा कोभिड– १९ को संक्रमण पुष्टि भएको छ ।
भिडियोमा हेर्नोस् डा. देवकोटाको ब्रिफिङ–
https://www.facebook.com/mohpnep/videos/1145012299208761/