डडेलधुरास्थित क्वारेन्टाइनमा राखिएका ६ वर्षिय एक बालकको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिका– ३ का बालकको मृत्यु भएको हो ।
जिल्ला सदरमुकाम नजिकै रहेको डडेलधुरा बहुमुखी क्याम्पसस्थित क्वारेन्टाइनमा राखिएका बालकको शनिबार राति १२ बजे मृत्यु भएको डडेलधुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए । आमा–बुबासँगै शनिबार गौरीफन्टा नाका भएर आएका सबैलाई आइतबार गाउँ लैजाने गरी सो क्वारेन्टाइनमा राखिएको थियो । राति बालक अचानक बिरामी भएपछि अस्पताल लैजाँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
बालक बिरामी भएपछि बिहान ३ बजे अस्पताल पुर्याउँदा मृत अवस्थामा रहेको डडेलधुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टले बताए । क्वारेन्टाइनमा मृत्यु भएका बालकको आइतबारै स्वाबको नमूना लिएर पीसीआर परीक्षणका लागि कैलाली प्रयोगशालामा पठाइने डडेलधुरा अस्पतालले जनाएको छ ।