newskoseli.Com

११औं पटक फैलियाे इबोला : सङ्क्रमित ६ मध्ये ४ को मृत्यु

अफ्रिकी राष्ट्र प्रजातान्त्रिक गणतन्त्र कङ्गोको इक्वाटियर प्रान्तको वाङ्गाता क्षेत्रमा प्राणघातक इबोला भाइरसको सङ्क्रमण फैलिएको सरकारले जनाएको छ । स्वास्थ्य मन्त्रालयले वाङ्गातामा इबोला सङ्क्रमित ६ जना फेला परेको जनाएको छ । सङ्क्रमित ६ जनामध्ये ४ जनाको मृत्यु भएको र दुई जना उपचारका क्रममा रहेका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिमा इबोलाको सङ्क्रमण देखिएको हो । सङ्गठनका महानिर्देशक टेड्रोस अधानोमले आम मानिसले सामना गर्नु परिरहेका सङ्क्रामक एवम् प्राणघातक रोगहरू कोभिड– १९ मात्र नरहेको यसले पुष्टि गरेको बताए ।
कोभिड–१९ महामारीका बारेमा हामी सबैको ध्यान गए पनि डब्लुएचओले मानव स्वास्थ्यमा जोखिम निम्त्याइरहेका अरु रोगतर्फ पनि ध्यान दिइरहेको उनले बताए ।

सन् १९७६ मा पहिलो पटक इबोला देखिएदेखि हालसम्म यो एघारौं पटक देखिइसकेको छ । अहिले विश्वव्यापी रुपमै कोभिड– १९ को महामारी देखिए पनि विगत २ वर्षदेखि अफ्रिकी स्वास्थ्य संस्थासँग मिलेर इबोला प्रसार रोक्न विशेष रुपमा कार्य भइरहेको डब्लुएचओकी अफ्रिकाका लागि क्षेत्रीय स्वास्थ्य निर्देशक डा. माट्सीडिसो मोएटीले बताइन् ।

इबोला फैलिएको क्षेत्रमा विशेषज्ञ सहितको टोली पठाउन लागिएको पनि उनले जानकारी दिइन् । यसअघि नै एमबान्डाकामा स्वास्थ्यकर्मीको टोली पठाइसकेको र कन्ट्याक्ट ट्रेसिङ (रोगी व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको पहिचान) को काम भइरहेको डब्लुएचओले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कङ्गोमा इबोला देखिनुको अर्थ इबोला भाइरस कङ्गोका जङ्गली जनावरमा अद्यापि रहेको पुष्टि भएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर