newskoseli.Com

नर्सले फूल दिएलगत्तै प्रहरीले लगायो हतकडी : कोरोना विजेता युवकको व्यथा

प्राणघातक कोरोनाभाइरसको सङ्क्रमण जितेर उन्मुक्ति पाएको खुशीयालीमा बुधबार नर्सले फूल दिएर शुभकामना दिँदै बिदाई गरिरहँदा २२ वर्षीय युवकलाई प्रहरीले भने हतकडी लगाएको छ । युवती हत्याको आरोपमा हिरासतभित्र रहेका अमरसिंह साउदलाई कोरोनामुक्त हुनेबित्तिकै हतकडी लगाएर प्रहरीले बुधबार कारागार चलान गरेको हो ।

बैतडीको पहिलो कोरोना सङ्क्रमित शिवनाथ गाउँपालिका– २ का २२ वर्षीय अमरसिंह साउद युवती हत्याको अभियोगअन्तर्गत अनुसन्धानका क्रममा वैशाख १५ देखि प्रहरी हिरासतमा थिए । मुद्दा दर्ता भएर अदालत पेस गर्दा अदालतले उनलाई कारागार चलान गर्ने आदेश दिएको थियो ।

कारागार चलान गर्नुअघि युवकमा कोरोना चेकजाँच गर्दा जेठ ९ मा उनमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भयो । उनी चैत ६ मा भारतबाट फर्केका थिए । भारतबाट फर्केलगत्तै गाउँकै एक युवतीसँग उनको प्रेम सम्बन्ध रहेको बताइएको छ । मृत अवस्थामा युवतीको शव खोलामा फेला परेपछि ती युवतीका आफन्तले साउदमाथि हत्याको आरोप लगाएर प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

वैशाख १५ मा थुनामा राख्नुअघि उनको आरडीटी परीक्षण गर्दा कोरोना नेगेटिभ आएको थियो । प्रहरीले लामो सयम थुनामा राखेर मुद्दाको अनुसन्धान गरेर अदालतमा पेस गर्दा कारागार चलान गर्ने आदेश आएपछि मात्रै उनको थ्रोट स्वाब सङ्कलन गरेर पीसीआर जाँच गर्न धनगढी पठाउँदा कोरोना पुष्टि भएको थियो ।

यस्ताे हाे घटनाक्रम

थुनुवामा कोरोना पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय बैतडी सिल गरेर थुनुवाको सम्पर्कमा आएका सबै प्रहरीको स्वास्थ्य परीक्षण गरिएको थियो । सङ्क्रमित युवकको सम्पर्कमा आएका मुद्दा फाँटदेखि अन्य प्रहरी सबैको कोरोना परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएका २२ वर्षीय युवक जेठ ९ देखि २१ सम्म जिल्ला अस्पताल बैतडीको आइसोलेसनमा रहेको जिल्ला अस्पताल, बैतडीका डाक्टर वसन्तराज जोशीले जानकारी दिए । आइसोलेसनमा रहेका उनको पहिलो र दोस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएकाले अस्पतालबाट फूल दिएर डिस्चार्ज गरिएको डाक्टर जोशीले बताए ।

अस्पतालबाट डिस्चार्ज हुनेबित्तिकै उनलाई अदालतको आदेशअनुसार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका निमित्त प्रमुख किसन चन्दले जानकारी दिए । चन्दले भने– ‘कोरोनामुक्त भएका साउदलाई अदालतको आदेशअनुसार बुधबार नै पुर्पक्षका लागि कारागार चलान गरेका छौं ।’

कोरोनामुक्त हुँदा खुशी देखिएका युवक कारागार चलान हुँदा निराश देखिएको खबर गोकर्ण दयालको बाइलाइनमा गोरखापत्र अनलाइनले प्रकाशित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर