लकडाउनको नयाँ मोडालिटीबारे छलफल गर्न बुधबार दिउँसो २ बजे मन्त्रिपरिषदको बैठक बस्दैछ । लकडाउनको फरक मोडालिटी तय गर्न मंगलबार साँझ ६ बजे मन्त्रिपरिषदको बैठक बोलाइएको थियो, मन्त्रीहरु बालुवाटार पुगिसकेपछि एकाएक स्थगित भएको सो बैठक बुधबार बस्न लागेको हो ।
११ चैतदेखि जारी लकडाउन ३२ जेठमा सकिँदैछ । अहिले कायम देशव्यापी लकडाउनको स्वरुप असार १ देखि लागू हुने गरी फेर्नेबारे सरकारले गृहकार्य गरिरहेको छ । तर, अबको लकडाउन कस्तो हुने र कसरी गर्ने भन्नेबार सरकार अझै निष्कर्षमा पुग्न सकेको छैन । २५ जेठदेखि नै लागू हुनेगरी नयाँ माेडालिटी लागू गर्न कसरत गरिरहेकाे सरकार त्यसमा असफल भएपछि जनस्तरबाट लकडाउनकाे व्यापक उल्लंघन भैरहेकाे छ । देशव्यापीरूपमै ठूला सहरहरू, बजार र यातायात चल्न थालिसकेका छन् ।
लकडाउनको स्वरुप परिवर्तन गर्नेबारे प्रधानमन्त्री खड्ग ओलीले नै सम्बन्धित विषयका सरोकारवालाहरुसँग छलफल गरिरहेका छन् । कोरोना रोकथाम, उपचार तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिमा पनि लकडाउनको स्वरुप परिवर्तनबारे छलफल भए पनि वर्तमान विषम परिस्थितिको विश्लेषण गरी उचित परामर्श दिन र निर्णय लिन सो समिति असफल भैसकेको छ ।
लामो समय लकडाउन कायम रहँदा अर्थतन्त्र चौपट भएको भन्दै अहिलेकै स्वरुपमा निरन्तरता नदिन निजी शैक्षिक संस्थाका मालिक र उद्यमी–व्यवसायीहरुले सरकारलाई चर्काे दबाव दिँदै आएका छन् । लकडाउनका कारण गरिब, मजदुर, निम्न वर्गका जनता र सर्वसाधारणमा परिरहेको गम्भीर प्रभावबारे भने प्रधानमन्त्री, सरकार र व्यापारी कसैले पनि खास चासो दिइरहेका छैनन् ।