लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा संसदबाट पारित गर्ने क्रममा त्यसको विपक्षमा उभिएर भारतको सेवा गरेकी समाजवादी पार्टीकी नेतृ एवं सांसद सरिता गिरीलाई सो पार्टीले निस्कासन गरिदिएको छ । पार्टीबाट निकालिएसँगै समानुपातिक सांसद रहेकी गिरीको सांसद पद समेत गुमेको छ ।
यसअघि सो पार्टीका महासचिव रामसहायप्रसाद यादवको नेतत्वमा गठित तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार उनलाई पार्टीबाट निष्काशन गर्दै सांसदबाट समेत पदमुक्त गर्ने निर्णय पार्टीले लिएको जानकारी सो पार्टीका नेताले दिएका छन् ।
नेपालको नयाँ नक्साअनुसार संविधानको अनुसूचीमा रहेको निशान छाप परिर्वतन गर्न सरकारले अघि बढाएको संविधान संशोधन विधेयकमाथि सांसद गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । सो संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न उनको पार्टीले निर्देशन समेत गिरीले अवज्ञा गरेकी थिइन् ।