शीर्ष नेतृत्वबीच पैदा भएको निकै कडा र विभाजनकै संघारमा पुगेको विवाद समाधानकाे मार्ग पहिल्याउन सत्ताधारी नेकपाका अध्यक्षद्वयबीच निरन्तर चल्दै आएको छलफल बुधबार पनि विनाष्किर्ष टुंगिएको छ । प्रधानमन्त्री एवं अध्यक्ष खड्ग ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधबारको छलफल पनि सहमतिउन्मूख हुन सकेन ।
बुधबार अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिव २ घन्टा चलेको अध्यक्षद्वयबीचको छलफलबाट साँझपख निन्याउरो अनुहार लगाउँदै प्रचण्ड बाहिरिए । के–के कुराकानी भए अनि सहमति भयो–भएन भन्नेबारे दुवै अध्यक्षका तर्फबाट केही पनि नखुलाइए तापनि दुवै पक्ष आ–आफ्ना अडानबाट रौंसम्म पनि टसमस नभएको बालुवाटारसम्बद्ध स्रोतले जनाएको छ ।
अध्यक्षद्वयबीच सहमति भए पनि र नभए पनि बुधबार चाहिँ बस्ने भनिएको स्थायी कमिटीको बैठक बस्न सकेन । बहुमत नेताहरुले स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि चर्किएको सत्ताधारी पार्टीभित्रको विवाद अझै समाधान हुन नसकेपछि स्थायी कमिटीको बैठक असार २६ मा मात्रै बस्ने गरी सारिएको छ ।
अध्यक्षद्वयबीच कुरा मिल्न नसकेपछि सबै विषयको टुंगो स्थायी कमिटीको बैठकमै छलफल गरेर लगाउनुपर्ने माग धेरै स्थायी कमिटीका नेताहरुले गरेका छन् । उता, स्थायी कमिटीले विवाद टुंग्याउन नसकेको र टुंग्याई नै हाले पनि केन्द्रीय समितिबाट अनुमोदन हुनै पर्ने भन्दै थुप्रै केन्द्रीय सदस्यहरुले यथाशिघ्र केन्द्रीय कमिटीको बैठक बोलाउन नेतृत्वलाई दबाव दिँदै आएका छन् ।