राजधानी उपत्यकामा कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि यहाँका तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ १५ सम्मका लागि भन्दै शुक्रबार मध्यरातदेखि लागू हुने गरी विभिन्न गतिविधिमा रोक लगाएका छन् ।
संक्रमणको जोखिम बढे पनि भीडभाड गर्ने, भेला हुने, जुलुस गर्नेलगायतका क्रियाकलाप हुन थालेको भन्दै काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले संयुक्तरूपमा आदेश जारी गरेका हुन् । शुक्रबार बसेको तीन सीडीओको संयुक्त बैठकले १० बुँदे आदेश जारी गरेको छ ।
‘जोखिम बढ्दै गएपछि हामीले संयुक्तरूपमा आदेश जारी गरेका हौं, अरू जिल्लाले निषेधाज्ञा पनि जारी गरेका छन् तर हामीले केही गतिविधिलाई निषेध मात्र गरेका हौं’– काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने । आदेशको उल्लंघन गरे स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम कारबाही गर्ने चेतावनी उनले दएिका छन् ।
सो ऐनको उक्त दफामा उल्लेख छ– ‘आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रहरीले गिरफ्तार गर्नेछ । गिरफ्तार गरिएका व्यक्तिलाई तुरून्त प्रहरीले प्रमुख जिल्ला अधिकारीसमक्ष पेस गर्नु पर्नेछ । प्रमुख जिल्ला अधिकारीले ती व्यक्तिलाई उपयुक्त सम्झेको संक्षित कार्यविधि अपनाई एक महिनासम्म कैद वा एक हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सक्नेछ र उक्त सजायको आदेशउपर उच्च अदालतमा पुनरावेदन लाग्नेछ ।’
यी हुन् प्रशासनले निषेध गरेका १० गतिविधिहरु–
– खुला स्थानमा मानिसहरु भेला–जम्मा हुन, भीडभाड गर्न, सभा–जुलुस गर्न ।
– भीडभाड हुने गतिविधि, जस्तै– जात्रा, महोत्सव सञ्चालन गर्न ।
– दैनिक हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक गतिविधिहरु ।
– उद्योग–व्यापार, व्यवसायअन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलापहरु ।
– चाडपर्वलगायतका धार्मिक–सांस्कृतिक कार्य गर्नका लागि हुने जमघटहरु ।
– शैक्षिक संस्थाहरु सञ्चालन गर्न ।
– सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, सैलुन, ब्युटीपार्लर, स्पा, स्वीमिङ पुल, जिमखाना, समूहमा खेलिने खेलकुद र खेल प्रस्तुति, पुस्तकालय, संग्रहालय, चिडियाखाना सञ्चालन गर्न।
– फुटपाथ, खुला ठाउँ र ठेलागाडा, साइकलमा सञ्चालन हुने विभिन्न व्यवसाय, कवाडी संकलन गर्न ।
– उद्योग–व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिक–कामदारको ओसारपसार गर्न ।
– टेक–वे बाहेक होटल, रेस्टुराँ सञ्चालन गर्न ।