नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ३८,५६१ पुगेको छ । यीमध्ये २२१ जनाको मृत्यु भैसकेको छ भने २०,८२२ जना आइसोलेसनबाट डिस्चार्ज भएर घर गैसकेका छन् र १७,५१८ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आइतबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ गरी राजधानी उपत्यकामा ४२९ सहित देशभर थप १२२१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १२,७१७ जनाको पीसीआर परीक्षण गर्दा ३४८ महिला र ८७३ पुरुष गरी १२२१ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।
पछिल्लो २४ घन्टामा ४ महिला र १० पुरुष गरी १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरी, बारा, महोत्तरी र काठमाडौंका १–१ जना महिलाको मृत्यु भएको हो । त्यसैगरी, महोत्तरी र रुपन्देहीका २–२ तथा सुनसरी, मोरङ, रौतहट, ललितपुर, भक्तपुर र नवलपरासीका १–१ जना पुरुषको मृत्यु भएको हो ।
पछिल्लो २४ घन्टामा २६७ जना आइसोलेसनबाट डिस्चार्ज भई आ–आफ्नो घर गएका छन् । सक्रिय संक्रमितमध्ये १०,६१२ जना संस्थागत आइसोलेसनमा र ६,९०० जना होम आइसोलेसनमा रहेको प्रवक्ता गौतमले बताए छ । यतिबेला देशभरका विभिन्न क्वारेन्टाइनमा ७,७९७ जना रहेको उनको भनाइ छ ।
भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–
https://www.facebook.com/mohpnep/videos/611501743069785/