नेपालमा कोरोनाभाइरसका संक्रमितको संध्या ४५,२७७ पुगेको छ । यीमध्ये २८० जनाको मृत्यु भैसकेको छ भने २७,१२७ जना आइसोलेसनबाट डिस्चार्ज भएर घर गैसकेका छन् र १७,८७० जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले शनिबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुर ४५ गरी राजधानी उपत्यकामा ४०८ सहित देशभर थप १,०४१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२,४७३ जनाको पीसीआर परीक्षण गर्दा ३४९ महिला र ६९२ पुरूष गरी १,०१४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा ३ महिला र ६ पुरुष गरी थप ९ जना कोरोनाभाइरसका संक्रमितको मृत्यु भएको छ । मोरङ, मकवानपुर र नवलपरासीका १–१ महिलाको मृत्यु भएको हो । त्यस्तै, काठमाडौंका ३ तथा पर्सा, महोत्तरी र रुपन्देहीका १–१ पुरुषको मृत्यु भएको प्रवक्ता गौतमले जनाएका छन् ।
पछिल्लो २४ घन्टामा १,५६६ जना आइसोलेसनबाट डिस्चार्ज भएर आ–आफ्नो घर गएका छन् । सक्रिय संक्रमितमध्ये ९,८६६ जना संस्थागत आइसोलेसनमा र ८,००८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–
https://www.facebook.com/mohpnep/videos/318754712529879/