newskoseli.Com

प्रदेश– ५ : राजधानी र नामकरणमा मतदान हुँदै, दुईतिहाईले पास हुने दावी

प्रदेश– ५ को स्थायी राजधानी र नामकरणको प्रस्तावमा मंगलबा प्रदेशसभामा मतदान हुँदैछ । सरकारले शुक्रबार दर्ता गरेको नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी क्षेत्र हुने भन्ने प्रस्तावमाथिको छलफल सोमबार सकिएको थियो ।

संशोधन प्रस्ताव दर्ता गर्ने सदस्यका लागि प्रदेशसभा स्थायी राजधानी र नामकरणसम्बन्धी आन्तरिक कार्यविधि, २०७७ को दफा ६ उपदफा १ बमोजिम सभामुख पूर्णबहादुर घर्तीले १८ घन्टाको समय उपलब्ध गराएका छन् । बिहान साढे ८ बजेसम्म एउटा मात्र संशोधन प्रस्ताव दर्ता भएको छ । संशोधन दर्ताको समय मंगलबार साढे १० बजे सकिँदैछ ।

प्रदेशसभा सचिवालयका अनुसार बिहान साढे आठ बजेसम्म जनता समाजवादी पार्टी, नेपालका तर्फबाट प्रदेशको नामकरण थारुहट–अवध–मगरात गर्न माग गर्दै संशोधन दर्ता भएको छ । पार्टीका प्रमुख सचेतक सहसराम यादव र सदस्य पुर्मती ढेंगा मगरले संयुक्त संशोधन प्रस्ताव दर्ता गरेका हुन् । मंगलबारको बैठकमा संशोधन दर्ता गर्ने संशोधनकर्तालाई सुरुमा बोल्ने मौका दिइने र त्यसलगत्तै प्रस्तावलाई मतदान प्रक्रियामा लैजाने प्रदेशसभाका नेकपाका प्रमुख सचेतक एवं कार्यव्यवस्था परामर्श समितिका सदस्य भूमिश्वर ढकालले बताए ।

‘आज मतदान प्रक्रियाबाट स्थायी राजधानी र नामको टुंगो लाग्छ,’ उनले भने– ‘प्रस्तावको पक्षमा दुईतिहाईभन्दा बढी मत प्राप्त हुन्छ ।’ मंगलबारको बैठकमा अन्य थप कुनै कार्यसूची नहुने उनले बताए । ८७ जना प्रदेशसभा सदस्य रहेको प्रदेशसभामा नेकपाका मात्र ६१ सदस्य छन् । तीमध्ये सभामुख बाहेक ६० सदस्यले मतदान गर्नेछन् । नेकपाको संसदीय दलको सोमबारको बैठकले प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ ।

कांग्रेसका १९ सदस्यमध्ये लुम्बिनी क्षेत्रका १३ ले विपक्षमा र राप्ती र भेरीका ६ जनाले प्रस्तावको पक्षमा मतदान गर्ने सम्भावना छ । जनता समाजवादीका ६ मध्ये ३ ले पक्षमा र २ ले विपक्षमा मतदान गर्ने जानकारी दिएका छन् । यद्यपि नेकपा बाहेक कुनै पार्टीले पनि अहिलेसम्म संसदीय दलबाट निर्णय गराएका छैनन् । एक मात्र सदस्य रहेको राष्ट्रिय जनमोर्चाले पनि अहिलेसम्म निर्णय गरेको छैन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर