नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ९८,६१७ पुगेको छ । यीमध्ये ५९० जनाको मृत्यु भैसकेको छ भने ७१,३४३ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् र २६,६८४ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बिहीबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंका २,०८५, ललितपुरका ३२० र भक्तपुरका १३५ गरी राजधानी उपत्यकामा २,५०३ सहित देशभर ४,३६४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १८,४७३ जनाको पीसीआर परीक्षण गर्दा १,५६१ महिला र २८०३ पुरुष गरी ४,३६४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घन्टामा ४ महिला र ८ पुरुष गरी थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २,६७५ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् । काठमाडौंमा ७९ वर्षीया, ललितपुरमा ७३ वर्षीया, भक्तपुरमा ८२ वर्षीया र सुर्खेतमा ८२ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
सक्रिय संक्रमितमध्ये १४,९६९ जना होम आइसोलेसनमा र ११,७१७ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २३५ जना आईसीयूमा र ४२ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।