नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १,२९,३०४ पुगेको छ । यीमध्ये ७२७ जनाको मृत्यु भैसकेको छ भने ८९,८४० जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् र ३८,७३७ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले शनिबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंका १,४५१, ललितपुरका १५२ र भक्तपुरका १४३ गरी राजधानी उपत्यकामा १,७४६ सहित देशभर ३,१६७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १५,४३८ जनाको पीसीआर परीक्षण गर्दा यो संख्याका संक्रमितको पुष्टि भएको हो । नेपालमा हालसम्म कूल १२ लाख ६९ हजार ६ सय ५ जनाको पीसीआर परीक्षण गरिसकिएको मन्त्रालयले जनाएको छ ।
सक्रिय संक्रमितमध्ये २५,३४८ जना होम आइसोलेसनमा र १३,२९९ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । यीमध्ये २९० जना आईसीयूमा र ६६ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा १,८०० जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् । कूल सङ्क्रमितमध्ये ६९.४ प्रतिशत डिस्चार्ज भएको मन्त्रालयको भनाइ छ ।
यतिबेला मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, कास्की, रुपन्देही, बाँके, भक्तपुर, ललितपुर र काठमाडौंमा ५०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित छन् भने मुस्ताङ सक्रिय सङ्क्रमितमुक्त छ । पछिल्लो २४ घन्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
भिडियोमा हेर्नोस् प्रवक्ताको ब्रिफिङ–
https://www.facebook.com/mohpnep/videos/415449336156236/