कोरोना भाइरस (कोभिड– १९) सङ्क्रमणबाट वरिष्ठ चिकित्सक डा. ध्रुव मुडभरीको शनिबार मृत्यु भएको छ । तत्कालीन राजा वीरेन्द्र शाहको शाही चिकित्सकको भूमिका समेत निर्वाह गरेका डा. मुडभरीले वीर अस्पतालको निर्देशक भएर पनि काम गरेका थिए ।
राजधानीको चाबहिलस्थित ओम अस्पतालका संस्थापक समेत रहेका डा. मुडभरीले राजविराज, भैरहवा, बुटवल, पोखरा र काठमाडौंमा गरी सरकारी शल्य चिकित्सकका रूपमा झन्डै २५ वर्ष सेवा गरेका छन् । पीसीआर पोजेटिभ देखिएपछि होम क्वारेन्टाइनमा रहेका ७७ वर्षीय डा. मुडभरीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि ओम अस्पताल भर्ना गरी आईसीयूमा राखेर उपचार गरिएको थियो ।
नागरिकको स्वास्थ्योपचार र जीवनरक्षाका निम्ति करिव ३ दशक खटेका उनले केही समय शाही चिकित्सकका रूपमा समेत काम गरेको हुँदा कतिपयले डा. मुडभरीलाई ‘राजाको डाक्टर’ का रुपमा समेत चिन्ने गरेका थिए । उपचारकै क्रममा उनको निधन भएको जानकारी उनकी छोरी अनुजा शर्माले दिएकी छन् । डा. मुडभरीका श्रीमती, दुई छोरी र एक छोरा छन् । पशुपतिस्थित विद्युतीय शवदाहगृहमा शनिबारै उनको अन्त्येष्टि भैसकेको छ ।