विवाद उत्कर्षमा पुगेर विभाजनउन्मूख भनिएको सत्ताधारी नेकपाको सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । ओली–प्रचण्ड पक्षत्रीच चरमोत्कर्षमा पुगेको विवादलाई ‘निकास दिन’ यो बैठक ‘निर्णायक’ हुने सर्वत्र अपेक्षा छ ।
यसअघि बुधबारको बैठक ‘बहिष्कार’ गरेका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष खड्ग ओली सहभागी हुने या नहुने अन्योलताकै बीच सुरु भएको शनिबारको बैठकमा ओली पनि सहभागी भएका छन् । यसअघि मंगलबार बसेको बैठकमा सहभागी भएर बुधबारको बैठक भने ओलीले ‘बहिष्कार’ गरेका थिए ।
शनिबारको बैठकमा सहभागी हुन ओलीलाई ‘अनुरोध’ गर्दै १८ मंसिरका लागि तय भएको स्थायी कमिटीको बैठक २१ मंसिरमा सार्ने र सचिवालयको अर्को बैठक शनिबार दिउँसो १ बजे बालुवाटारमा बस्ने निर्णय गर्दै ओली अनुपस्थित बुधबारको बैठक टुंगिएको थियो ।
यसैबीच, ओली–प्रचण्ड पक्षत्रीच सम्बन्ध सुधारका संकेतहरु देखापरेका छन् । २५ दिनयता ‘वन टु वन’ छलफलमा नबसेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओली सचिवालय बैठकअघि झन्डै १ घन्टा ‘वन टु वन’ छलफलमा बसे । र, शनिबारको बैठकमा भाग नलिने जिद्दी गर्दै आएका ओली समेत सचिवालयको यो बैठकमा बसे ।
कार्यकारी अध्यक्ष प्रचण्डले २८ कात्तिकमा प्रस्तुत गरेको र अर्का अध्यक्ष ओलीले १३ मंसिरमा प्रस्तुत गरेको राजनीतिक प्रस्ताव तथा विभिन्न समयमा ओलीले प्रचण्डलाई र प्रचण्डले ओलीलाई लेखृका पत्रहरु समेतमाथि छलफल गर्न शनिबारको बैठकको कार्यसूची छ ।