newskoseli.Com

‘नारायणकाजीमाथि अनर्गल आरोप’ : कमानसिंहकी पत्नी इन्द्रमायाको बयान (पूर्णपाठ)

सत्ताधारी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ हालै निधन भएका साे पार्टीका केन्द्रीय सदस्य, पूर्वसांसद एवं पूर्वराजदूत कमानसिंह लामा र उनकाे परिवारसम्बद्ध आर्थिक कारोबारमा जोडिएको भन्दै सामाजिक सञ्जाल र केही सञ्चार माध्यमहरुमा आएका खबरहरुको खण्डन गर्दै दिवंगत नेता कमानसिंह लामाकी पत्नी इन्द्रमाया तामाङले वास्तविकता सार्वजनिक गरेकी छन् ।

लामापत्नी इन्द्रमायाले शुक्रबार विज्ञप्ति जारी गर्दै अहिले चलाइएको गलत अफवाहले अकल्पनीय शाेककाे घडीमा आफूहरु थप मर्माहत भएको र नेता श्रेष्ठको निष्ठापूर्ण जीवनलाई बदनाम गर्ने प्रयास गरिएकाे भन्दै भर्त्सना गरेर आपत्ति जनाएकी छन् ।

यस्तो छ इन्द्रमायाको विज्ञप्ति–

विगत २२–२३ वर्षसम्मको हाम्रो वैवाहिक सम्बन्धमा खासै ठूलो अन्तर्विरोध र वैमनश्यता कहिल्यै भएन । घरव्यवहार र राजनीतिक जीवनमा दुवै जनाले आ–आफ्नो जिम्मेवारी सम्हाल्ने क्रममा एक अर्काको साथ सहयोग रहेकै थियो । हामी दुवै जनाको सधैं ब्यक्तिगत लाभ र सम्पत्ति जोड्ने भन्दा पार्टी र राजनीतिक जीवन प्राथमिकतामै रह्यो । उहाँ पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहँदा मेरो साथ र सहयोग रहिरह्यो । र, म पनि पार्टी र जनवर्गीय संगठनको केन्द्रीय जिम्मेवारीमा रहँदा उहाँको सहयोग पाइरहें ।

यसैक्रममा सिन्धुपाल्चोक जिल्लाको गुम्बा गाउँपालिका–५ अन्तर्गत श्री याम्बलिङ हाइड्रोपावर प्रा.लि. हामी दुवै जनाको नाममा सञ्चालन गर्ने गरी नेपाल सरकारबाट अनुमति प्राप्त गर्‍याैं । सो हाइड्रो सञ्चालनका लागि विगत १० वर्षदेखि हाम्रो चलअचल सम्पत्ति, आफन्त, इष्टमित्र, पार्टीका साथीहरुको समेत ऋण धन लिएर संचालन गर्ने प्रयत्न गर्‍याैं । तर न हामीले हाइड्रो सञ्चालन गर्न सफल भयौं न त साथीभाइको ऋण नै चुक्ता गर्न सक्यौं । त्यहीबेला नेपाल विद्युत प्राधिकरणले हाम्रो अनुमतिपत्र खारेज गर्ने प्रक्रिया थालेपछि पार्टीका साथी र हाइड्रोको समेत अनुभव प्राप्त गर्नुभएको नाताले सुसन कर्माचार्य र अन्य साथीहरुलाई हामीले तपाईंहरु पनि संलग्न भएर संस्था बचाइदिनुस् भनेर पटक–पटक अनुरोध गर्‍याैं । सोही बमोजिम हामी दुवै जनाको सहमतिमा हाम्रो केही सेयर रहनेगरी सबै आर्थिक र कानुनी  प्रक्रिया पुर्‍याएर हस्तान्तरण गर्‍याैं ।

तत्कालीन अवस्थामा मेरो सेयर धेरै थियो र मेरा पति कमरेड लामाको सेयर थोरै थियो । अन्य व्यक्तिको सेयर पनि थियो । हामीले सञ्चालन गर्न नसक्दा साथीभाइको ऋणले हाम्रो आर्थिक अवस्था टाट पल्टिने र हाम्रो राजनीतिक र सामाजिक जीवन समेत सिद्धिने अवस्थामा पुगेको बेला सुसन कर्माचार्य लगायतका साथीहरुको कम्पनीले हाम्राे उद्धार नै गर्‍याे । सो क्रममा सुरुकै अवस्थामा हाम्रो राजनीतिक अभिभावक भएकाले हामीमा परेको समस्या कमरेड नारायणकाजी श्रेष्ठलाई पनि हामीले नै जानकारी गराएका थियौं । त्यसक्रममा उहाँले हामीलाई आर्थिक पारदर्शीता र अनुशासनको बारेमा सम्झाउनुभएकै हो । तर त्यही कुरालाई जोडेर उहाँको राजनीतिक निष्ठापूर्ण जीवनलाई बदनाम गर्ने निहीत स्वार्थपूर्ति गर्ने केही व्यक्ति वा संस्थाहरु लागिरहेकोमा म घोर भर्त्सना गर्दछु । उहाँ हाम्रो यो आर्थिक विषयमा न हिजो संलग्न हुनुहुन्थ्यो, न आज संलग्न हुुनुहुन्छ ।

जहाँसम्म हामी दुई जना (श्रीमान्–श्रीमती) बीचको असमझदारीको कुरा छ, त्यसको एक मात्र कारण श्रीमान् (कमानसिंह लामा) को भन्दा हाइड्रोपावर कम्पनीको सेयर संख्या मेरो बढी हुनु नै हो ,जसका कारण कानुनी प्रक्रिया पूरा गरिसकेपछि पनि मेरो श्रीमानले पटक–पटक मलाई पैसाको लागि विभिन्न बहाना बनाई तनाव दिने, उहाँले भनेजति रकम नदिए कुट्ने, पिट्ने र मानसिक यातना दिनेदेखि विभिन्न लाञ्छना लगाउने काम समेत गर्नुभयो । बिरामी अवस्थामा मानसिक यातना दिने क्रम रोकिएन । तर पनि मबाट उहाँप्रति मेरो दायित्व पूरा गर्ने कुरामा कुनै कसर बाँकी राखेको छैन । मलाई जति दुःख र पीडा अरु कसलाई हुन सक्छ ? मेरो श्रीमान्, जसलाई बचाउन सकिएन, यस्तो पीडाको अवस्थामा पनि केही तत्त्वहरुले म, मेरो परिवार र राजनीतिक नेतृत्वसँग खेलबाडको विषय बनाइरहेको देख्दा दुःख लागेको छ । यो दुःखद् अवस्थामा म र मेरो परिवारलाई सहानुभूति दिने सबैप्रति हार्दिक धन्यवाद दिन चाहन्छु ।

२६ मंसिर, २०७७

– इन्द्रमाया तामाङ

थप याे पनि पढ्नुहाेस्–
प्रवक्ता नारायणकाजीलाई असान्दर्भिक विवादमा मुछ्ने प्रयास !

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर