मंगलबारदेखि आ–आफ्नै बाटो लागेका सत्ताधारी नेकपाका दुई घटकमध्ये ओली पक्षको प्रवक्तामा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली चयन भएका छन् ।
मंगलबार बिहानै बसेको ओली पक्षका केन्द्रीय सदस्यहरूको बैठकले एकलौटी ढंगबाट ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरेको छ । सोही बैठकले ज्ञवालीलाई प्रवक्ता चयन गरेको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्चालमार्फत दिएका छन् ।
मूल नेकपाको प्रवक्तामा भने नारायणकाजी श्रेष्ठ रहँदै आएका छन् । विभाजनअघि ओली गुटलाई ‘सहयोग नगरेको’ भन्दै थापालगायतले सार्वजनिकरुपमै प्रवक्ता श्रेष्ठविरुद्ध अभियान छेड्दै आएका थिए ।