नेपालका पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर चीन र भारतपछि अमेरिकाले मुख खोलेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले नेपालका पछिल्ला घटनाक्रमलाई नेपालको आन्तरिक मामिला भनेको छ ।
‘यो नेपालको सार्वभौम संस्था र राजनीतिक दलले आफ्नो लोकतान्त्रिक संवैधानिक प्रक्रिया र कानुनको शासनअनुरुप समाधान गर्ने आन्त्रिक मामिला हो’– दूतावासकी प्रवक्ता आना रिची–एलेनले भनिन् ।
प्रधानमन्त्री खड्ग ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेका थिए । सो विषयलाई लिएर यसअघि भारत र चीनले पनि ‘यो नेपालको आन्तरिक मामिला रहेको’ आशयका औपचारिक प्रतिक्रिया दिएका थिए । यद्यपि अनौपचारिकरूपमा भने नेपालका पछिल्ला राजनीतिक घटनाक्रमका सन्दर्भमा भारत, चीन, अमेरिकासहितका राष्ट्रहरूले आ–आफ्नो कोणबाट गिजोल्ने प्रयास गरिराखेकै छन् ।