प्रधानमन्त्री खड्ग ओलीले संविधानविरुद्ध गरेको प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले दोस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ । कोटेश्वरको पेरिसडाँडास्थित पार्टी कार्यालयमा दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरिने जानकारी उक्त पार्टीका केन्द्रीय सदस्य हिमाल शर्माले दिएका छन् ।
कार्यक्रमको स्वरुपबारे छलफल गर्न पत्रकार सम्मेलनअघि नेताहरुको बैठक बस्ने शर्माले बताए । ‘संघर्षको स्वरुप र आन्दोलनका कार्यक्रमबारे दिउँसो नेताहरुबीच छलफल गरेर टुुंगोमा पुग्छौं, त्यसपछि पत्रकार सम्मेलन गरेर कार्यक्रम घोषणा गर्छौं’– शर्माले भने ।
ओलीको प्रतिगमनकारी हर्कतका विरुद्ध संघर्ष गर्न नेकपा प्रचण्ड–माधव पक्षको केन्द्रीय समितिको बैठकले नै प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५०१ सदस्यीय संघर्ष समिति गठन गरेको छ । अबका आन्दोलनका कार्यक्रम वडादेखि पालिका, प्रदेश र केन्द्रसम्म जनपरिचालन हुने खालका बनाइने बताइएको छ ।