newskoseli.Com

ओली समूहको ‘पञ्चर्‍याली’ : कामचलाउ प्रधानमन्त्री, उपप्रधानमन्त्री र गृहमन्त्रीले भाषण गर्ने

वि.सं. २०४६ मा पञ्चायती निरंकुशताको अन्त्य भई बहुदलीय व्यवस्थाको पुनर्बहाली भएयता पहिलो पटक सरकारले सडकमा ओर्लेर ‘शक्ति प्रदर्शन’ गर्ने भएको छ । पञ्चायती व्यवस्थाविरूद्ध जनमत उत्कर्षमा पुगेर ढल्ला–ढल्लाजस्तो भैसकेपछि जनतामा भ्रम सिर्जना गर्दै सरकार टिकाउनका लागि त्यसबेलाको सरकार सडकमा ओर्लेर ‘पञ्चर्‍याली’ गरेको थियो ।

अहिले खड्ग ओली नेतृत्वको कामचलाउ सरकारले ठ्याक्कै त्यस्तै सन्दर्भ र शैलीमा ‘शक्ति प्रदर्शन’ गर्ने प्रयास गर्नुलाई धेरैले ‘पञ्चर्‍याली’ कै संज्ञा दिएका छन् । सरकारका यतिबेलाका गतिविधिहरू हेर्दा जताततै ‘पञ्चर्‍याली’ कै झल्को देखिँदैछ र सरकारी छटपटाहट र हर्कतहरूले पनि मरणासन्न अवस्थाको पञ्चायती निरंकुशतालाई नै सम्झाइरहेका छन् ।

नेकपाबाट टुक्रिएको ओली समूहले जनताले गास कटाएर र रगत–मासु सुकाएर तिरेको राजश्व दोहन गर्दै शुक्रबार राजधानीमा ‘बृहत् सभा’ का नाममा उही ‘पञ्चर्‍याली’ आयोजना गर्दैछ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि ‘पञ्चर्‍याली’ गर्न लागिएको हो ।

उक्त कार्यक्रममा काठमाडौं उपत्यकासहित वागमती प्रदेशका १३ जिल्ला र देशभरिबाट सो समूहका नेता–कार्यकर्ता र समर्थक आउने ओली समूहका वागमती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले बताए । उक्त कार्यक्रम सम्पन्न गर्न सो समूहका काठमाडौं उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ ।

मध्याह्न १२ बजेदेखि हुने उक्त कार्यक्रममा ओली समूहका अध्यक्ष तथा कामचलाउ सरकारका प्रधानमन्त्री खड्ग ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतले सम्बोधन गर्नेछन् । कार्यक्रमअघि काठमाडौं उपत्यकाका १३ स्थानबाट जुलुस निकाल्ने बताइएको छ । जुलुसमा साङ्गीतिक प्रस्तुतिसहित कलाकारहरुलाई समेत सहभागी गराइँदैछ ।

पार्टीबाट टुक्रिएर अलग्गै समूह बनाइएको बारे जानकारी दिन, सरकारले गरेका भनिएका कामको प्रचार गर्न, ताजा जनादेशमा जान र ‘कम्युनिस्ट आन्दोलनलाई अझ एकताबद्ध गराउन’ सभा गर्न लागिएको अध्यक्ष पोखरेलले जानकारी दिए । संविधान मिच्दै र लोकतन्त्रलाई धरापमा पार्दै ओली सरकारले आगामी वैशाख १७ र २७ मा प्रतिनिधिसभाको मध्यावधि निर्वाचन घोषणा गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर