newskoseli.Com

ओलीले ‘डुबाए’ बादललाई : यसरी बनाए ‘घर न घाटको’ !

अन्ततः सर्वत्र पूर्वानुमान गरिए झैं पूर्वमाओवादी नेता एवं कामचलाउ सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई नेकपा ओली समूहका अध्यक्ष तथा कामचलाउ प्रधानमन्त्री खड्गप्रसाद ओलीले ‘डुबाइदिएका’ छन् । झन्डै तीन दशकसम्म पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सामिप्यमा रहेर राजनीति गरेका बादल प्रचण्डहरूलाई ‘सत्तोसराप’ गर्दै ओली समूहमा लागेको छोटो समयमै ‘घर न घाटको’ बन्न पुगेका छन् ।

बादलसहितको सहमतिमा ५ पुसमा ओलीले प्रतिनिधिसभा ‘विघटन’ गरिदिपछि विभाजित भएको सत्ताधारी नेकपाभित्र ‘प्रभावशाली’ रहँदै आएका बादल ओली समूहमा लाग्लान् भन्ने अनुमान धेरैले गरेकै थिएनन् । विगतदेखि नै पार्टीभित्रका विवादमा अन्त्यसम्म सधैं नै ‘बीचमा’ बसिरहने अनि अन्ततः गलत निष्कर्ष र निर्णयमा पुग्ने गर्दै आएका बादल यसपटक पनि नराम्ररी पछारिन पुगेका छन् ।

पार्टी विभाजित हुँदा दुवैतिरको तानातानमा परेका बादल प्रचण्डसँगको सहयात्रामा पूर्णविराम लगाउँदै ओलीलाई ‘साथ दिन’ उभिए । प्रतिनिधिसभा ‘विघटन’ लाई ‘बाध्यात्मक’ र ‘अग्रगामी’ कदम बताउँदै ओलीको ‘बचाउ’ गर्न खम्बा बनेर उभिएका बादल ‘सात जुनीदेखिको सत्रूता’ रहे झैं गरी ओली गुटका पुराना मान्छेहरुभन्दा दस हात माथि उफ्रेर प्रचण्डहरुमाथि निकै चर्को गालीगलौजमा उत्रिए ।

ओली समूहले दिएको अध्यक्ष ओली पछिको दोस्रो वरियतामा राखेर सहअध्यक्ष बनाउने, तत्काल उपप्रधानमन्त्रीमा ‘बढुवा’ गर्ने र अरू पनि महत्त्वपूर्ण भूमिका दिने आश्वासनमा बहकिँदै आफ्नो धरातललाई लात मारेका बादलका ती सपना अन्ततः दिवासपना मात्र सावित भए । ओलीले ती आश्वासन दिएर आफ्नो क्याम्पमा हुलेका बादलले अन्ततः दुवै पाएनन्, ईश्वर पोखरेल पर्खाल बनेर बीचमा उभिइदिए ।

यसरी कामचलाउ उपप्रधानमन्त्री ईश्वर पोखरेलभन्दा मुनिकै स्थानमै थेचारिइरहेका बादलको हविगत पछिल्लो पटक शुक्रबारको कार्यक्रममा उदांगियो । नारायणहिटीको ढोकामा ओली समूहले आयोजना गरेको ‘शक्ति प्रदर्शन’ मा बादलको बोल्ने पालो पोखरेलभन्दा पहिले थियो । बादलपछि पोखरेल अनि ओलीले भाषण गरेपछि बादलको वरियता सार्वजनिकरुपमै फेरि प्रष्टियो ।

उक्त कार्यक्रममा पनि बादलले जननिर्वाचित प्रतिनिधिसभा विघटन गर्नेजस्तो गैरसंवैधानिक हर्कतलाई ‘क्रान्तिकारी’, ‘अग्रगामी’, ‘राष्ट्रवादी’ जस्ता हास्यास्पद पदावलीले सिँगारपटार गर्दै र प्रचण्डहरुलाई थुन्नेसम्मका धम्की दिँदै भाषण गरे । उनले ओलीपछिको नेता आफैं हुँ भन्ने सन्देश प्रवाहित गर्न खोजे पनि ओली गुटका पुराना नेता–कार्यकर्ताहरुबीच भने उनी हाँस्यपात्र मात्रै बने । सो कार्यक्रममा ‘ओलीले नहँसाए पनि बादलले हँसाइदिए’ भन्दै ओली गुटका नेता–कार्यकर्ताले ‘जोक’ गरे ।

शुक्रबारको कार्यक्रममा मात्र होइन, यसअघिका सबै कार्यक्रममा बादललाई पोखरेलभन्दा मुनि नै राखेर ‘अतिथि’ बनाइने गरेको छ । यसअघि वामदेव गौतम र माधवकुमार नेपाललाई ‘प्रधानमन्त्री बनाइदिन्छु’ भनेर पटक–पटक आश्वासन दिएका ओलीले बादललाई सहअध्यक्ष बनाउने, पोखरेलभन्दा माथि राख्ने र उपप्रधानमन्त्री बनाउने सम्भावना टरिसकेको सर्वत्र टिप्पणी गरिँदैछ ।

‘बर्बादै भयो नि, ओलीले त बादल कमरेडलाई नराम्ररी डुबाए,’ विगतदेखि नै बादलसँग निकट रहेर काम गर्दै आएका र अहिले ओली समूहमा लागेका मझौला कदका एक नेताले न्युजकोसेलीलाई भने– ‘तीन–तीनवटा ललिपप देखाएर पहिले अरुलाई जस्तै गरी अहिले बादललाई मज्जैले फसाए, हाम्रो दिमाग खराब भएको छ, के गर्ने र के नगर्ने भनेर विलखबन्दमा परिएको छ ।’

प्रचण्डकै ‘कोटा’ र प्रस्तावमा गृहमन्त्री बनेका बादललाई प्रचण्डले गृहमन्त्रीबाट हटाउन खोजेको भन्दै पहिले ओली समूहले नै झुक्यायो । विभाजनमा पनि प्रचण्डहरूबाट टाढा गराइदिइसकेपछि अहिले आएर ‘घर न घाटको’ पारिदियो । अब मूल पार्टीतिर फर्कन पनि अप्ठ्यारो र ओली समूहमै बसिरहन पनि गाह्रो भएको दुःखेसो ती नेताले पोखे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर