राजनीतिकरुपमा विभाजित नेकपाका दुवै पक्षले आफू नै आधिकारिक रहेको दाबी गर्दै निर्वाचन आयोगमा दबाब बढाउँदै लगेका छन् । नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आफ्नो पक्ष नै आधिकारिक नेकपा रहेको दाबी गर्दै आयोगमा निवेदन दिइसकेपछि आयोगले त्यसबारे अध्ययन गरिरहेको छ ।
उता, केन्द्रीय समितिमा एक चौथाइ मात्र हैसियत रहेको खड्ग ओली समूहले समेत आफू नै आधिकारिक रहेको दावी छाडिसकेको छैन । राज्यशक्तिको दुरूपयोग गरेर सिंगै निर्वाचन आयोगलाई नै बदनाम गराउन उक्त समूहले प्रयास गरिरहेको छ । यो अवस्थामा दुवै पक्षले आफूहरु नै नेकपाको आधिकारिक रहेको जिकिर गरेर आयोगमाथि प्रत्यक्ष र परोक्षरुपमा दबाब बढाउँदै लगेका छन् ।
नेकपाका प्रचण्ड र नेपाल पक्षले आयोगमा पुगेर आफ्नो पक्ष नै आधिकारिक रहेको प्रमाण पेस गरिसकेको छ । आफ्नो पक्ष नै आधिकारिक रहेको प्रमाणहरूसहित नेकपाका अध्यक्षद्वय प्रचण्ड र नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालसहितको टोली माघ २० मा आयोग पुगेको थियो । उनीहरुले केन्द्रीय कमिटीको दुईतिहाइ बहुमत आफ्नो पक्षमा भएकाले आधिकारिक पार्टी आफूहरू नै भएको जिकिर गर्दै अन्यथा नगर्न आग्रह गर्दै आएका छन् ।
प्रधानमन्त्री खड्ग ओली पनि मंगलबार आयोग पुगेर मनौवैज्ञानिक दबाब दिएका छन् । प्रधानमन्त्री ओलीले त पार्टी दुइटा पक्षमा विभाजित भएको कुरालाई नै अस्वीकार गर्दै २०७५ जेठ ३ मा एकीकृत भएको पार्टीको अध्यक्ष आफैं रहेको र पार्टीमा कुनै परिवर्तन नआएको दाबी प्रमुख आयुक्त र आयुक्तसँग गरे । जबकि केही महिनाअघि उनै ओलीले केन्द्रीय समिति विस्तार गरेर १५ सयभन्दा बढी पुइएको दावी आयोगसमक्ष गरेका थिए । कार्यकारी अध्यक्ष प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतलाई जिम्मेवारीबाट हटाइएको ओलीको दावी आयोगमा बुझाइएको थियो ।
यसैबीच, बुधबार राजधानीमा आयोजित प्रचण्ड–माधव पक्षको वृहत् सभामा बोल्ने शीर्ष नेतासहितका वक्ताहरूले कामचलाउ प्रधानमन्त्री ओली अकस्मात आयोगमा पुग्नुको मुख्य कारण आयोगलाई धम्क्यान नै भएको बताए । सो सभामा बोल्दै अध्यक्षद्वय प्रचण्ड तथा माधवकुमार नेपालले पार्टीको विधान, दस्तावेज, सकुर्लर र निर्णय हेर्न आयोगलाई आग्रह गर्दै उनले त्यसमा पनि शंका छ भने ४ सय ४१ लाई बोलाएर एक–एक व्यक्तिको टाउको गन्न आयोगलाई सुझाएको खबर शुक्रबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।