नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले अब खड्ग ओलीसँग एकता सम्भव नरहेको बताएका छन् । ओलीमा वैचारिक स्खलन भइसकेकाले तत्काल एकता असम्भव रहेको दुवै अध्यक्षले बताएका हुन् । विचारमा एकता भएपछि मात्र पार्टी एकता सम्भव हुने उनीहरूको भनाइ छ ।
शनिबार ललितपुरको जावलाखेलमा आयोजित नेकपा निकट शिक्षकहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पार्टी एकता विचार, विधि र पद्धतिको विषय भएको प्रचण्ड र नेपालले बताएका हुन् । ‘फेरि पनि खड्ग ओलीसँग सहमति हुन सक्छ कि सक्दैन भन्ने सन्दर्भमा सहमति कोसँग हुन्छ र कोसँग हुँदैन, व्यक्तिगतरूपले को कसलाई मन पर्छ वा मन पर्दैन भन्ने विषय यो होइन, यो विचारको विषय हो र यो विधि, पद्धतिको विषय हो, विचारमा एकता भयो भने एकता हुन्छ, नभए हुँदैन’– अध्यक्ष प्रचण्डले भने ।
सोही कार्यक्रममा नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले पनि खड्ग ओलीसँग एकताको कुनै सम्भावना नरहेको बताए । ओलीसँग सहकार्यको सम्भावना नरहेको उल्लेख गर्दै बरु संसद् विघटनविरुद्ध आन्दोलनमा सहभागी भएकाहरूलाई साथमा लिएर संयुक्त सरकार बनाउने उनले बताए ।
‘खड्ग ओलीसँग एकताको कुनै सम्भावना छैन, भ्रममा नपर्नुहोला; ओलीका मानिसहरूका आँखामा बाम लगाएर निकालेको आँसुको कुनै अर्थ छैन, बाम लगाएर आँसु निकाल्छन् र भित्र कोठामा गएर मुसुमुसु हाँस्छन्, यिनलाई मूर्ख बनाएर पठाइयो भन्छन्, त्यसकारण तपाईंहरू यस्ता कुराको भ्रममा नपर्नुहोला’– अध्यक्ष नेपालले भनेको खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।