नैतिकताको आधारमा राजीनामा माग्न आएका नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री खड्ग ओलीले तीतो जवाफसहित रित्तो हात फर्काइदिएका छन् ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा ब्युँताएपछि ‘पार्टी एकता बचाउन’ तत्काल राजीनामा माग्दै गौतम १४ फागुनको दिउँसो बालुवाटार पुगेका थिए । ‘राजीनामा दिनुपर्छ भने बरु म एकतामै जान्नँ पो भन्नुभयो’– प्रधानमन्त्रीको भनाई उधृत गर्दै गौतमले भने ।
राजीनामाको प्रस्ताव सुन्नेबित्तिकै प्रधानमन्त्री रन्केपछि आफूले त्यो कुरालाई धेरै नचर्काएको गौतमको भनाइ छ । ओलीले राजीनामाको विकल्प अघि सार्दै आफूलाई ‘बरु आलोपालो प्रधानमन्त्री बन्ने’ प्रस्ताववमोजिम ‘अबको एक वर्ष म नै प्रधानमन्त्री हुनुपर्छ, दोस्रो वर्षचाहिँ प्रचण्डलाई छाड्न सकिन्छ । त्यसमा असमझदारी गर्ने, धोका दिने काम अब म गर्दिनँ । अहिले नै कागजपत्र लेखेर, आवश्यक पर्यो भने जे–जेमा सहीछाप गर्न भन्नुहुन्छ गरेर जाने हो, मिलीजुली सरकार बनाएर जाने हो, त्यसका लागि तयार छु’– ओलीको भनाइ सुनाउँदै गौतमले भने ।
एउटा विषयमा प्रधानमन्त्रीसँग आफ्नो मतभिन्नता रहे पनि एकताका निम्ति प्रयास भने जारी राखेको गौतमले बताए । ‘तत्काल राजीनामा दिने विषयमा मेरो र उहाँको बीचमा कुरा मिलेको छैन । आफ्नो त्यति ठूलो कदम गलत सावित भैसकेपछि खुरुक्क राजीनामा दिएको भए उहाँको कद र प्रतिष्ठा माथि उठ्थ्यो तर त्यसबाट उहाँ आफूले आफैंलाई वञ्चित गराएउनुभयो’ आफ्नो निष्कर्ष सुनाउँदै गौतमले भने– ‘संविधान, नियम, कानुन मिचेको आरोप र सबै विवादबाट मुक्त हुनका लागि पनि उहाँले राजीनामा दिनैपर्थ्यो ।’
‘पार्टीलाई एकढिक्का बनाउने’ भन्दै १३ फागुनको बिहान सातै बजे एकता अभियानका संयोजक गौतम अध्यक्ष प्रचण्डलाई भेट्न यसैगरी खुमलटार पुगेका थिए । प्रचण्डलाई भेट्नेबित्तिकै वामदेवले भने– ‘मुम्बईबाट फर्कनासाथ तपाईंले मलाई दिनुभएको वचन लागू गर्नुपर्यो कमरेड,’ गौतमको कुरा सुनेपछि प्रचण्डले भने– ‘त्यो हुन्छ, पख्नोस् ।’
अघिल्लो महिना प्रचण्डपत्नी सीताको उपचार सकेर काठमाडौं फर्केपछि आफूसँगको भेटमा प्रचण्डले संसद पुनर्स्थापना भए तत्काल पार्टी एकताको अपिल जारी गर्ने वचन दिएको गौतमले बताए । उनको दाबी छ– ‘पुनर्स्थापना हुनासाथ पार्टी एकताको अपिल जारी गर्नुपर्छ भनेर मैले भन्दा उहाँले हुन्छ भन्ने वचन दिनुभएको थियो ।’
‘प्रतिनिधिसभा पुनर्स्थापना भएमा राष्ट्रपति र नभएमा न्यायाधीशहरुलाई महाअभियोग लगाउने कुरा गर्न पाइने छैन है’ त्यसबखत आफूले यसो भन्दा प्रचण्डले सहमति जनाएको तर ११ गते साँझ बीबीसी नेपाली सेवालाई दिएको अन्तर्वार्तामा त्यो कुराको पालना नभएको गौतमको आरोप छ । ‘उहाँले राष्ट्रपतिमाथि महाअभियोग लगाउने आफूहरुको कुनै मनशाय नरहेको भनेर स्पष्ट पार्नुभयो तर एकताका निम्ति अपिल गर्नुभएन’– गौतमको भनाइ रहेको खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।