नेकपा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभाको चुनाव जितेका तर पछिल्लो समय उक्त पार्टी परित्याग गरेर एमाले (ओली समूह) मा प्रवेश गरेका चारजना मन्त्री प्रतिनिधिसभाको सदस्य पदबाट हात धुन पुगेका छन् । अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली– ४ का लेखराज भट्ट, रौतहट– ३ का प्रभु साह र कैलाली– ३ का गौरीशंकर चौधरीको सांसद पद रिक्त भएको जानकारी सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठकमा गराएसँगै उनीहरू पदमुक्त भएका हुन् ।
माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार संसद सचिवालयलाई पत्र पठाएर पार्टी परित्याग गरेका चार सांसदलाई कारबाही गरिएको जानकारी गराएका थिए । राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुन्छन् । सांसद पद खोसिएका चारैजना पूर्वमाओवादीहरू ओली सरकारका मन्त्री छन् ।
बहालवाला मन्त्रीको सांसद पद गु्म्नासाथ उनीहरू स्वतः मन्त्रीबाट समेत पदमुक्त हुन्छन् । उनीहरूलाई नै फेरि मन्त्री बनाउने हो भने पुनः नियुक्त गर्नुपर्ने कानुनविदहरुको भनाइ छ । त्यसरी पुनः नियुक्त भएका मन्त्री या त ६ महिनाभित्र फेरि सांसद बन्न सक्नुपर्छ नत्र त्यसपछि उनीहरू मन्त्री पदबाट स्वतः पदमुक्त हुन्छन् ।